राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौं, ४ माघ । राष्ट्रियसभाको १९औँ अधिवेशन आज माघ चारगते आइतबारदेखि शुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवन जेनजी आन्दोलनकाक्रममा जलेर ध्वस्त भएकाले संसद सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको थियो । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुतगर्ने कार्यसूची रहेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा आज माघ चार गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको थियो । गत भदौ ३१ गते राष्ट्रियसभाको १८ औँ अधिवेशन अन्त्यभएको थियो । यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रियसभा सदस्यमा एकजना निर्विरोध निवर्नचित भइसक्नुभएको आयोगले जनाएको छ । रासस