काठमाडौं, ८ माघ । चालु आर्थिक बर्ष २०८२÷८३ को पुस मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट नौअर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल गरी नौअर्ब ७७ करोड दुई लाख ३२ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंकाअनुसार अघिल्लो आव ०८१÷८२ को सोही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धिभएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ५.७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजारले बढेको उहाँंले जानकारी दिनुभयो ।
कार्यालयको तथ्यांकअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चारअर्ब ७४ करोड ९४ लाख ३६ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा चारअर्ब ७२ करोड छ लाख मूल्यपर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी तीनअर्ब २२ करोड ६५ लाख मूल्यपर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ । त्यस्तै छमहिनाको अवधिमा एक अर्ब २४ करोड सात लाख मूल्यपर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख मूल्यपर्ने चारहजार ११२ किलोलिटर एटिएफ र नौकरोड पाँच लाख मूल्यपर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्यांक छ । रासस