काठमाडौं,१० माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचारगर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत गर्न र निजकोतर्फबाट खर्चगर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालनगर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन–०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्चगर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्तगर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ । यस्तै, कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगकारुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ ।

राजनीतिक दलका नाममा सहयोग प्राप्तभएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको बैंक खातामा जम्मा गर्नुपर्ने लगायतका प्रावधान छन् । सो व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उम्मेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो । सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको हकसमेतमा लागूहुनेछ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि बैकिङ कारोवारगर्ने बैंक तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्नभई आयोगद्वारा निर्णयगरी बन्दगर्न नलगाउँदासम्म सञ्चालन हुनेछ ।

निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उम्मेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो । रासस