अबुधाबी, ११ माघ । युक्रेन र रुसले हिजो शनिबार अमेरिकी मध्यस्थतामा भएको दुईदिने प्रत्यक्ष वार्ता समाप्त गरे र अर्को हप्ता अबु धाबीमा थप वार्ता आयोजनागर्न सहमत भएका छन् । किएभले मस्कोले नयाँ आक्रमण शुरुगरेर युद्ध समाप्तगर्ने दिशामा वार्तालाई कमजोर पारेको आरोप लगाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबारे धेरै छलफल भएको र कुराकानी रचनात्मक हुनु महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले अर्को हप्ताको शुरुमा अर्को चरणको वार्ता हुनसक्छ भन्नुभयो । वार्ताको दोश्रो दिनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा ड्रोन र मिसाइलहरुको वर्षा शुरु गर्यो, जसले शून्यभन्दा पनि कम तापक्रममा लाखौँ नागरिकलाई विद्युत कटौतीको सामनागर्न बाध्य पारेको छ ।

मस्कोले अर्को रुसी आतंकको रात शुरुगरेर वार्तालाई कमजोर पारेको आरोप किएभले लगाएको छ । युएई सरकारका प्रवक्ताले दुवै देशका उच्च सैन्य अधिकारीहरु सम्मिलित वार्ता रचनात्मक र सकारात्मक वातावरणमा भएको बताएका छन् तर आश्वासनबाट थकित किएभका बासिन्दाहरुलाई सफलताको लागि झिनोमात्र आशा रहेको छ । संयुक्त अरब इमिरेट्सका प्रवक्ताकाअनुसार वार्ता अमेरिकाले प्रस्ताव गरेको शान्ति फ्रेमवर्कका उत्कृष्ट विकल्पकासाथै विश्वास निर्माणगर्ने उपायहरुका विषयमा छलफल भएको थियो ।

जेलेन्स्कीका अनुसार छलफलको मुख्य लक्ष युद्ध समाप्तगर्ने सम्भावित मापदण्डहरु थिए । दुवै युद्धरत पक्षहरुले पूर्वी डोनबास क्षेत्रको भाग्य युद्ध अन्त्यको खोजी प्रमुख मुद्धा भएको बताएका छन् । रासस, एएफपी