काठमाडौं, १६ माघ । आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शहीद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदानगर्ने शहीदको स्मरणगर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार शहीद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य शहीदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएकोभन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै शहीदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियोभने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणागरी विविध कार्यक्रम हुँदै आएको छ । ०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो । स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो । रासस