काठमाडौं, १८ माघ । ७७ औँ भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शनगर्न भारतीय कलाकारको टोली बेनी–जोमसोम सडकमार्गहुँदै मुस्ताङ पुगेको छ । नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चारजना प्रतिनिधिसहित भारतीय सांस्कृतिक कलाकारको टोली मुस्ताङ पुगेको हो । भारतीय राजदूतावासअन्तर्गत भारतस्थित आसामको स्वामी विवेकानन्द कल्चर सेन्टरबाट कलाकारसहित नृत्य प्रदर्शनगर्ने टोली मुस्ताङ पुगेको कलाकार टोलीका अगुवा मुकुट बोराले जानकारी दिनुभएको छ । उहाँकाअनुसार आसामको बिहु फोक नृत्य त्यहाँ देखाउनेगरी कलाकार, प्राविधिक र प्रतिनिधिसहित १८ जना सहभागी छन् ।

यसैगरी भारतीय गणतन्त्र दिवसका अवसरमा यहाँ आयोजना गरिएको एक समाहरोहमा कार्यक्रम निर्देशक वासिङ मल्लिक र राहुलसहित अन्य चारजनाको सहभागिता थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले नेपाल सरकारसँग अनुमति लिएर सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय टोली यहाँ आएको जानकारी दिनुभएको छ । आसामबाट यहाँ आएका कल्चर सेन्टरका टोलीले घरपझोङ–२ माफास्थित सामुदायिक समाजघरमा सांस्कृतिक नृत्य सञ्चालन गरेको हो । पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको प्रमुख आतिथ्यतामा भारतीय कलाकारले करिब एक घण्टासम्म दुईवटा बिहु फोक नृत्य प्रदर्शन गरेका हुन् । रासस