काठमाडौं, १८ माघ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गए मध्यरातदेखि लागू हुनेगरी डिजेल÷मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागूहुनेछ ।

निगमले हवाई इन्धन (आन्तरिक र अन्तराष्ट्रियतर्फ) को मूल्यभने घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर सात घटाइएको छ । मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी ९६६ पुगेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर शून्य दशमलव १२ पैसा, डिजेल÷मट्टितेलमा प्रतिलिटर चाररुपैयाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ४५ रुपैयाँ ४९ पैसा बढेर आएको तथा हवाई इन्धनमा प्रतिलिटर एकरुपैयाँ ०८ पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । रासस