काठमाडौं, २३ माघ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको बिष्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुईजना दाजुभाइको घटनास्थलमै मृत्युभएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको बिष्फोटमा परेर बराहपोखरी–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्युभएको हो । बराहपोखरीस्थित सालघारी भञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।
मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । बिष्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराउनुभएको हो । दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिनुभयो । उहाँले दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरुको शव पर्खेर बसेको छु । यहाँ कोही चिनेजानेका मानिस छैनन् । चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु । घाइतेहरुलाई उद्धार गरेर अस्पताल लगेको छ । उनीहरुको पनि अवस्था चिन्ताजनक छ । यसप्रति सम्बन्धित निकायको ध्यान जाओस् भन्नुभयो । दुर्घटनाका मृतक तथा घाइतेहरु रोजगारीका लागि गत पुस तीनगते घरबाट मेघालय गएको छिमेकी क्षेष्ठले जानकारी दिनुभयो । मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन् ।
रोजगारीको सिलसिलामा मेघालय पुगेका आफन्तको डेढ महिना नपुग्दै दुर्घटनामा परेर मृत्युभएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् । खोटाङका विभिन्न ठाउँका स्थानीय युवा हिउँदको समयमा काम खोज्दै मेघालय जानेगरेका छन् । भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामापरेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ । मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुहुँदै ज्यान गुमाउनेको परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । घाइतेहरुलाई ५० हजारका दरले उपचार खर्च दिने पनि प्रधानमन्त्री मोदीले बताउनुभएको छ । रासस