काठमाडौं,२९ माघ । सैनिक मुख्यालयमा आगामी फागुन २१ को निर्वाचनको सुरक्षा अवस्थाका बारेमा छलफल भएको थाहा भएको छ । बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरुको समीक्षा, बन्दोबस्ती पक्षलगायत समसामयिक विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतको उपस्थिति थियो । यसैक्रममा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वयगरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्नगर्न निर्देशन दिनुभएको छ ।

जंगी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई सम्बोधनगर्दै उहाँले एकीकृत सुरक्षा योजना–०८२ अनुसार समन्वयात्मकरुपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिनुभएको थियो । प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायमराख्दै जिम्मेवारीमा खटिइन निर्देश गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले पृतनास्तरमा भएको प्रभावकारी कार्यका लागि पृतनापतिलाई धन्यवादसमेत दिनुभएको थियो ।