काठमाडौं,२९ माघ । नेपालकी सोना श्रेष्ठ एडीबीको दक्षिण एशिया विभागको महानिर्देशकमा नियुक्त हुनुभएको छ । एशियाली विकास बैंक (एडीबी)ले आफ्नो दक्षिण एशिया विभागको महानिर्देशकमा नेपाली नागरिक श्रेष्ठलाई नियुक्त गरेको हो । मनिलास्थित एडीबी मुख्यालयले आज एक विज्ञप्ति जारीगर्दै श्रेष्ठलाई दक्षिण एशिया विभागको महानिर्देशक नियुक्त गरेको जानकारी दिएको हो । उहाँले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा कार्यक्रम सञ्चालनको नेतृत्व गर्ने हुनु भएको छ ।

नियुक्तिपछि श्रेष्ठले दक्षिण एशियाको नेतृत्व सम्हाल्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै क्षेत्रका सदस्य राष्ट्रहरुसँग नजिकबाट सहकार्यगर्दै समावेशी र दिगो विकासका लागि एडीबीको संलग्नता अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले यसअघि २३ वर्ष एडीबीमै बिताउनु भएको थियो । यसअघि उहाँ दक्षिण एशिया विभागकै उपमहानिर्देशक हुनुहुन्थ्यो ।

उहाँले एडीबीको स्वतन्त्र मूल्यांकन विभागको उपमहानिर्देशक, सहायक सचिव, दक्षिण–पूर्वी एशियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक, र इन्डोनेसियाकी उप–देश निर्देशकका रुपमा पनि काम गरिसक्नु भएको छ । श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बिद्यावारिधि (पीएचडी) उपाधी हाँशिल गर्नुभएको छ ।