काठमाडौं, २९ माघ । एमालेका अध्यक्ष केपी ओली आज झापा–५ को ब्यस्त चुनावी प्रचारकै बीचमा काठमाढौं फर्कनु भएको छ । उहाँ एक साता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमकै बीचमा काठमाडौं फर्कनुभएको हो । पार्टीको प्रतिबद्धतापत्र बनाएर सार्वजनिकगर्ने तयारीका लागि उहाँ काठमाडौं फर्कनुभएको बताइएको छ । झापा – ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका ओलीले निर्वाचन क्षेत्रमा पर्ने कमल, गौरादह र गौरीगन्ज पालिकाका १०० भन्दा बढि स्थानहरुमा मतदाताहरुसँग भेटघाट तथा अन्तक्र्रिया गरिसक्नु भएको छ । जहाँ प्रत्यक्षरुपमा २५ देखि ३० हजार मतदातालाई ओलीले भेट्नुभएको अनुमान छ । ओलीले स्थानीयका गुनासा र मागहरुलाई सुनेर त्यसलाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा जिताउन आग्रह गर्नुभएको निर्वाचन परिचालन समितिका संयोजक देबेन्द्र दाहालले बताउनुभएको छ ।
ओलीले गरेको यस क्षेत्रको विकास र मायालाई स्थानीयले खुलेर प्रशंसा गरेको दाहालको दाबी छ । ओलीको प्रत्यक्ष भेटघाट र घरदैलोले पार्टीका नेता कार्यकर्तादेखि लिएर आम मतदाताहरुमा नयाँ प्रकारको उत्साह देखिएको उहाँको भनाइ छ । यो पटक ओलीले आफ्नो निर्वाचन क्षेत्रका बिरामी तथा हिँडडुलगर्न नसक्ने कतिपय मतदाताहरुको घरमै पुगेर हौंसला समेत दिनुभएको उहाँले जानकारी दिनुभएको छ । ओलीले अझै यस क्षेत्रमा धेरै योजनाहरु अलपत्र रहेकाले त्यसलाई पूरागर्नका लागि आफू लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
ओलीले आफूले बिगतमा गरेका बाचा र प्रतिबद्धतालाई पूर्णता दिने आश्वसन दिनुभएको छ । ओली यसैसाता पुन दमक पुग्ने उहाँको सचिवालयले जनाएको छ । अहिलेलाई प्रत्यक्ष उम्मेदवार सहितको भेटघाट स्थगन भएको हो । पार्टीकातर्फबाट घरदैलो र भेटघाट कार्यक्रम जारी रहने नेकपा एमालेका केन्द्रिय सदस्य दीपक कार्कीले बताउनुभएको छ ।