काठमाडौं, २९ माघ । नेपालमा आगामी निर्वाचनका लागि सेना परिचालन भएकै अवस्थामा संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो तीनदिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । उहाँको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । भ्रमणका दौरान उहाँले औपचारिक भेटघाटकासाथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकनगर्ने नेपाली सेनाले जनाएको छ ।

यस प्रकारको भ्रमणबाट दुई देशबीचकोसम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाकार्यजस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीचको द्विपक्षीय रक्षा सम्बन्धलाई थप सुदृढ बनाउने र सैन्य सहयोगलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको बताइएको छ । भ्रमणका क्रममा एडमिरल पापारोले नेपाली सेनाको उच्च नेतृत्वसँग महत्वपूर्ण भेटवार्तागर्ने कार्यक्रम रहेको छ ।