काठमाडौं,६ फागुन । इन्डो–नेपाल ट्रेड फेष्टिभलको दोस्रो सत्र यही फागुन ८ देखि १० गतेसम्म भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुँदैछ । नयाँदिल्लीस्थित पिएडी चेम्बरको भवनमा आयोजना हुने महोत्सवमा व्यवसाय तथा नीतिगत छलफलसँगै महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई साङ्गीतिक कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला तथा प्रामाणिक नेपाली परिकारमार्फत प्रस्तुत गरिने छ । भारतमा रहेका नेपाली उद्योगी व्यवसायीको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्श (इसिसीआइ) को मुख्य आयोजना, नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड तथा व्यापार तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो ।
सन् २००८ मा स्थापना भएको इसीआइमा भारतका विभिन्न क्षेत्रका ८०० भन्दाबढी उद्योगी व्यवसायीहरु सदस्य छन् । महोत्सवमा भारत र नेपालका विभिन्न ६० भन्दाबढी कक्ष सहभागी हुने र महोत्सवलाई २५ हजार बढीले अवलोकनगर्ने आयोजकले जनाएको छ । हिजो मंगलबार नयाँदिल्लीस्थित प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा इसिसीआइका अध्यक्ष युवराज बरालले फेष्टिभलबारे जानकारी गराउँदै इन्डो–नेपाल ट्रेड फेष्टिभल व्यापार, पर्यटन, संस्कृति र नवप्रवर्तनमार्फत द्विपक्षीय सहकार्य सुदृढ गर्ने परिवर्तनकारी मञ्चका रुपमा परिकल्पना गरिएको बताउनुभयो । ‘जनतालाई जोड्दै, द्विपक्षीय व्यापार प्रवद्र्धनगर्दै’ नारासहित आयोजना गर्न लागिएको महोत्सवको उद्घाटन सत्रमा भारत सरकारका पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावत, सञ्चारमन्त्री ज्योतिरादित्य सिंधिया, नेपालका लागि भारतका राजदूत डा शङ्करप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाललगायतको सहभागिता रहने उहाँले बताउनुभयो ।
पहिलो संस्करणको उल्लेखनीय सफलतापछि यो फेष्टिभल भारत–नेपालबीच द्विपक्षीय आर्थिक सहकार्य, पर्यटन एकीकरण, सांस्कृतिक आदानप्रदान तथा लगानी साझेदारी सुदृढगर्ने प्रमुख द्विपक्षीय मञ्चका रुपमा स्थापित भएको छ । यसपटकको महोत्सवमा जलविद्युत् तथा ऊर्जा साझेदारी, सीमापार व्यापार तथा कनेक्टिभिटी, रामायण र बौद्ध सर्किटसहित पर्यटन एकीकरण, बैंकिङ, फिनटेक तथा डिजिटल अर्थतन्त्र सहकार्य, मिडिया तथा सांस्कृतिक कूटनीति, युवा सहभागितालगायत विषयमा उच्चस्तरीय सत्र तथा नीतिगत संवाद हुनेछ । त्यसैगरी, व्यावसायिक नेटवर्किङ कार्यक्रम तथा नीतिनिर्माता, मन्त्री, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी, लगानीकर्ता र उद्यमीबीच बिटुबी तथा बिटुजी बैठक आयोजना गरिनेछ । यी सत्रले दुवै देशका विज्ञ, नीति–निर्माता तथा उद्योग क्षेत्रका सरोकारवालालाई साझा विकास र दिगो क्षेत्रीय सहकार्यका नयाँ अवसर खोज्न एकै मञ्चमा ल्याउने आयोजकको विश्वास छ । रासस