लण्डन, ८ फागुन । बेलायतका पूर्व राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । एन्ड्रयु माउन्टबेटन बेलायतका राजा चाल्र्सका भाइ तथा पूर्व राजकुमार हुनुह्ुन्छ । थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी साझा गरेको आरोपमा पूर्व राजकुमारको उजुरीको अनुसन्धान गरिरहेको बताएपछि उहाँलाई पक्राउ गरिएको हो । एन्ड्रयुले लगातार दृढताकासाथ आफूले कुनै पनि गलत कार्य नगरेको बताउँदै आउनुभएको छ । उहाँको राजकुमार उपाधि गतवर्ष गुमेको थियोभने उपाधिको अन्त्यसँगै उहाँले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो । उहाँलाई प्रहरीले कहाँबाट पक्राउ गर्यो भन्ने खुल्न सकेको छैन, तर आज बिहान नोरफोकको स्यान्ड्रिङ्घममा केही नौला सवारी साधनहरु देखिएका थिए । उहाँले विन्डसरमा आफ्नो घर छोडेपछि स्यान्ड्रिङ्घममा बस्दैआउनुभएको थियो । तिनीहरु प्रहरीले प्रयोग गरेका प्रहरीको संकेत नभएका सवारी साधन भएको विश्वास गरिएको छ। पूर्व राजकुमार पक्राउ परेको यो पहिलो पटक हो ।

उहाँमाथि दोषी यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप लगाइएको छ । बिबिसीको रिपोर्टका अनुसार उहाँलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो । यसैबीच, थेम्स भ्याली प्रहरीले एन्ड्रयूको गिरफ्तारीपछि एक विज्ञप्ति जारी गर्दै भनेको छ–हाम्रो अनुसन्धानको एक भागको रुपमा, हामीले आज (१९÷२) सार्वजनिक कार्यालयमा दुव्र्यवहारको शङ्कामा नोरफोकबाट ६० वर्ष भन्दा बढी उमेरका एक व्यक्तिलाई पक्राउ गरेका छौँ। बर्कशायर र नोरफोकका ठेगानाहरुमा पनि खोजी भइरहेको छ । ती व्यक्ति अहिले प्रहरी हिरासतमा छन् । विज्ञप्तिमा भनिएको छ–हामीले राष्ट्रिय निर्देशिकाअनुसार पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्दैनौँ । कृपया यो पनि ध्यान दिनुहोस् कि यो मुद्दा हाल सक्रिय छ, त्यसैले कुनै पनि प्रकारको प्रकाशन गर्दा अदालतको अवहेलनाबाट बच्न सावधानी अपनाउनु पर्छ ।

सहायक प्रमुख प्रहरी हवल्दार ओलिभर राइटले भन्नुभयो–विस्तृत मूल्यांकन पछि हामीले सार्वजनिक कार्यालयमा दुव्र्यवहारको यस आरोपको अनुसन्धान शुरुगरेका छौँ । उहाँले यो महत्वपूर्ण छकि हामी यस कथित अपराधको अनुसन्धानको क्रममा अनुसन्धानको निष्पक्षता र न्यायको रक्षागर्न हाम्रा साझेदारहरुसँग काम गर्छौँ। हामी बुझ्दछौं, यस मामिलामा सार्वजनिक चासो धेरै उच्च छ, र हामी उपयुक्त समयमा जानकारी साझा गर्नेछौँ भन्नुभएको छ । रासस,एएफपी