काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) काअनुसार बर्दघाट नगरपालिका – १२ जमुनियामा चुनावी अभियानमा रहेका उम्मेदवार हरिजनमाथि अपरिचित व्यक्तिहरुको समूहले हातपातगरी फरार भएका थिए । उक्त घटनाको प्रारम्भिक सूचना र खोजीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोष्ट भटौलियाको संयुक्त टोलीले फरार अभियुक्तहरुलाई उनीहरुकै घरबाट नियन्त्रणमा लिएको हो । प्रहरीले बर्दघाट नगरपालिका – १३ धनेवा बस्ने दिपिन थापा, आयुष राना मगर र राम मिजारलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिनुभएको छ ।

उम्मेदवारमाथि अभद्र व्यवहारगरी फरार रहेका उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा फेलापारिएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनैजनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। यसअघि बर्दघाट –१३ धनेवाका अजय गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । उम्मेदवार हरिजनले आफूहरु रास्वपाको कार्यकर्ता भन्दै मादक पदार्थ सेवन गरेर आएका १०–१२ जनाको समूहले आक्रमण गरेको आरोप लगाउनु भएको छ ।