
काठमाडौं, ८ फागुन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल नेतृत्वको केन्द्रीय संयुक्त संघर्ष समितिले पनि निर्वाचनको औचित्यकाबारेमा घरदैलो कार्यक्रमगर्ने भएको छ । संयोजक गजुरेलद्वारा जारी वक्तव्यमा पहिलो चरणमा क) आज फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचनबारे गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरुगर्ने । र, दोस्रो चरणमा– ख) फागुन १३ देखि १८ गतेका बीचमा स्थानीय अनुकूलता हेरी इटहरि, जनकपुर, चितवन, काठमाडांै, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका शहरहरुमा सभाहरु आयोजनागर्ने कार्यक्रम तय गरिएको उल्लेख गरिएको छ ।
वक्तव्यमा सुशीला कार्की नेतृत्वको सरकारद्वारा गरिएको धर्मेन्द्र बास्तोला र ऋषि कट्टेलको गिरफ्तारीको विरोधगर्दै उहाँहरुको अविलम्ब रिहाइको माग गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिको हालै बसेको बैठकले उपरोक्त निर्णय गरेको बक्तब्यमा उल्लेख छ ।