काठमाडौं, ८ फागुन । एमालेद्वारा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउने घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभा निर्वाचन–०८२ को घोषणापत्र सार्वजनिक गर्दै उपरोक्त घोषणा गरेको हो । पार्टीका अध्यक्ष केपी ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । एमालेले तत्काल गर्नुुपर्ने ११ काम, पाँच विकासका लागि आधारभूत घोषणा र २५ समृद्धिको स्तम्भ समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले आफ्नो नेतृत्वमा सरकार बनेपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट घोषणापत्रमा समेटिएका तत्काल गर्नुपर्ने ११ कामगर्ने उल्लेख गरेको छ । घोषणापत्रमा श्रमिकको तलब न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउने उल्लेख छ । यस्तै सबै बिद्यालयका किशोरीलाई निःशुल्क प्याड तथा कक्षा १० सम्मका बिद्यार्थीलाई खाजाको व्यवस्थागर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी १८ वर्षदेखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म निःशुल्क हरेक महिना १० जीवी इन्टरनेट डाटा, युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।
सूचना प्रविधि र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपभोगगर्न सहज बनाइ १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउने वाचा गरेको छ । एमालेले वैदेशिक रोजगारमा रहेका श्रमिकले विप्रेषण पठाउनेलाई बंैक खातामा पाँच हजार थपगर्ने तत्काल गर्नुपर्ने काममा उल्लेख गरेको छ । प्राविधिक धारमा उच्च शिक्षा अध्ययनगर्न चाहने बिद्यार्थीलाई २० लाखसम्म निव्र्याजी ऋण उपलब्ध गराउने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा उपलब्ध गराउने एमालेको घोषणा पत्रमा भनिएको छ । त्यस्तै २० हजार सुत्केरी भत्ता र पाँच लाखसम्मको निःशुल्क जीवन बिमा उपलब्ध गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ । एमालेले राज्यद्वारा गरिब परिवारकारुपमा पहिचान भएका घर परिवारले बंैक तथा वित्तीय संस्थाबाट ०८२ भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाह गराउने भएको छ । शिक्षकको मर्यादा तोक्ने र सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने, सुरक्षाकर्मीको सम्मान र कल्याणका लागि पेशागत मर्यादा, सेवा सुविधा, सामाजिक सुरक्षा र स्वास्थ्य उपचार तथा सीप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चितागर्ने एमाले घोषणापत्रमा उल्लेख गरिएको छ । एमालेले कृषिको उत्पादत्व, बिद्युत उत्पादन क्षमता बढाउँदै, खनिज तथा औद्योगिक उत्पादन र भौतिक पूर्वाधारमा फड्को मार्दै ७ देखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर बढाउने घोषणापत्रमा उल्लेख छ । अर्थतन्त्रको आकार पाँच वर्षमा एकसय खर्ब रुपैयाँ र १० वर्षमा २०० खर्ब पु¥याउने एमालेको लक्ष्य छ ।
प्रतिव्यक्ति आम्दानी पाँच वर्षमा करिब तीन हजार अमेरिकी डलर पु¥याउने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । एमालेले दुई वर्षमा सबैको घरमा खानेपानी पु¥याउने वाचा गरेको छ । एमालेले उच्च आर्थिक वृद्धिबाट वार्षिक चार लाख र सूचना प्रविधिको क्षेत्रसहित लक्षित रोजगार कार्यक्रमबाट थप एकलाख गरी वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने भएको छ । उद्योग क्षेत्रको विस्तार गरेर कूल ग्रार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने, पर्यटन पूर्वाधारको विकास, बजार प्रवद्र्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षागर्दै पाँचवर्षमा पर्यटकको आगमन दोब्बर बनाउने घोषणापत्रमा उल्लेख छ । पाँच वर्षभित्र थप तीन लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने, सबै स्थानीय तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमा नै उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । सबै सडकलाई दुई लेनको बनाउने र एक लेनका सडकलाई दुई लेनको बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।
एमालेले सबै राष्ट्रसँग सम्मानजनक सम्बन्ध राख्दै कुनै पनि राष्ट्रको स्वाधिनता, स्वनिर्णय र भौगोलिक अखण्डतामाथिको अतिक्रमण तथा हस्तक्षेप अस्वीकार गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई, सचिव छविलाल विश्वकर्मालगायत नेता सहभागी हुनुहुन्थ्यो । रासस