
काठमाडौं, ९ फागुन । बिभिन्न जिल्लामा नमूना मतदान सम्पन्न भएका छन् । यसैक्रममा भक्तपुरमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुर र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल बिद्युत प्राधिकरण तालिम केन्द्रमा नमूना मतदान गरिएको हो । निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारमै अभ्यास गराउने उद्देश्यले नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुकासाथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित नमूना मतदान गरिएको हो ।
मतदान केन्द्रमा खटिने कर्मचारीहरुको जिम्मेवारी भूमिका विभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको थियो । कार्यक्रममा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमूना मतदान अत्यन्त उपयोगी हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाल, जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादुर खड्का, मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरलगायतको उपस्थिति रहेको थियो ।