
पेरिस, ९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्नका लागि सम्झौता कटौतीगर्न दबाब दिने उद्देश्यका साथ मध्यपूर्वमा ठूलो नौसैनिक निर्माणगर्न आदेश दिएपछि इरानमाथि सीमित आक्रमणगर्ने विचार गरिरहेको बताउनुभएको छ । इरानका विदेशमन्त्रीले यसै हप्ताको शुरुमा जेनेभामा दुई पक्षबीच भएको वार्तापछि वाशिंटनसँग सम्झौताको मस्यौदा प्रस्ताव केही दिनमै तयार हुने बताए पनि अमेरिकाको पछिल्लो चेतावनी आएको हो । तेहरानले १० दिनभित्र सम्झौता नगरेमा अप्रिय कदम चाल्ने ट्रम्पले बिहीबार बताउनुभएको थियो, जसलाई उहाँले पछि १५ दिनसम्म विस्तार गर्नुभएको थियो । पत्रकारद्वारा के उहाँ सीमित सैन्य हमलाकाबारेमा सोचिरहनुभएको होभन्ने प्रश्नको जवाफमा ट्रम्पले जवाफ दिनुभयो–म यसलाई अमेरिकाले विचार गर्दैछमात्र भन्न सक्छु । जेनेभामा भएको वार्तापछि तेहरानले सम्भावित सम्झौताको मस्यौदा बुझाउन दुवै पक्ष सहमत भएको र यो सहमतिको आगामी कदम हुने इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सञ्चारमाध्यमलाई बताउनुभएको थियो ।
मध्यपूर्व ट्रम्पका मुख्य वार्ताकारलाई संकेतगर्दै उहाँले मलाई विश्वास छ कि अबको दुई, तीन दिनमा त्यो तयार हुनेछ र मेरा वरिष्ठहरुले अन्तिम पुष्टि गरेपछि स्टिभ विटकोफलाई हस्तान्तरण गरिनेछ भन्नुभयो । अमेरिकी वार्ताकारहरुले तेहरानलाई आणविक संवर्धन कार्यक्रम अन्त्य गर्न अनुरोध नगरेको पनि अराघचीले बताउनुभयो । अमेरिकी टिभी नेटवर्क एमएस नाउले शुक्रबार जारी गरेको एक अन्तर्वार्तामा उहाँले भन्नुभयो–हामीले कुनै आणविक संवर्धन कार्यक्रम अन्त्यको प्रस्ताव गरेका छैनौँ र अमेरिकी पक्षले शून्य संवर्धन मागेको छैन । उहाँले हामी अहिले इरानको आणविक कार्यक्रम कसरी शान्तिपूर्ण र सधैँभरि शान्तिपूर्ण रहनेछ भन्ने कुरा गरिरहेका छौँ भन्नुभयो । उहाँको टिप्पणी ट्रम्पसहित उच्च पदस्थ अमेरिकी अधिकारीहरुले दिएको जानकारीको विपरीत छ, जसले बारम्बार इरानलाई कुनै पनि स्तरमा युरेनियम प्रशोधनगर्न अनुमति दिनुहुँदैन भन्दै आउनुभएको छ ।
पश्चिमी देशहरुले इस्लामिक गणतन्त्रले आणविक हतियार प्राप्तगर्न खोजेको आरोप लगाउँछन्, जसलाई तेहरानले अस्वीकार गर्छ, यद्यपि उसले नागरिक उद्देश्यका लागि संवर्धनको अधिकारमा जोड दिन्छ । इरानले आफ्नो अर्थव्यवस्थामा ठूलो प्रभाव पारेको प्रमाणित भएका प्रतिबन्धहरु अन्त्य गर्न वार्ता गर्न खोजिरहेको छ । आर्थिक कठीनाइका कारण डिसेम्बरमा विरोध प्रदर्शन भएको थियो जुन गत महिना राष्ट्रव्यापी सरकार विरोधी आन्दोलनमा परिणत भएको थियो । आन्दोलनमा भएको दमन र झडपका क्रममा हजारौँको ज्यान गुमेको अधिकारवादी समूहहरुले पुष्टि गरेका छन् । रासस,एएफपी