काठमाडौं, ९ फागुन । खुलामञ्च प्रयोग व्यवस्थापनको अधिकार काठमाडौं महानगरपालिकाको वडा नं. २७ लाई दिन प्रमुखसमक्ष सिफारिसगर्ने निर्णय गरिएको छ । राजस्व समितिका संयोजक तथा वडानं ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा विषयगत समितिका संयोजक र राजस्व समितिका सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । विगतमा विभिन्न संघसंस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनगर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुनेगरेको थियो । हाल कार्यक्रम सञ्चालनगर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्नेगरी संघसंस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुलामञ्च प्रयोग तथा व्यवस्थापनगर्ने अधिकार वडानं. २७ लाई दिन प्रमुखसमक्ष सिफारिसगर्ने निर्णय गरिएको हो । खुलामञ्चमा कार्यक्रम आयोजनागर्ने आयोजकले वडानं. २७ को धरौटी खातामा २५ हजार धरौटी राख्नुपर्नेछ ।
मञ्चमा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्मगरी २ सिफ्टमा कार्यक्रम सञ्चालनगर्न सकिनेछ । यसरी कार्यक्रम सञ्चालन गर्दा मञ्चको मर्मत सम्भार, विद्युत महसुलसहित प्रति सिफ्ट ५ हजार शुल्क तिर्नुपर्ने जनाइएको छ । आयोजकले कार्यक्रमस्थलमा आफ्नो पहिचान झल्किने व्यानरबाहेक अन्य विज्ञापनजन्य सामग्री राख्नपाउने छैनन् । टिकट विक्री गरेर सञ्चालन हुने कार्यक्रम गर्न पाइनेछैन । जसले कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएको सो समयमा तेस्रो पक्षलाई कार्यक्रम सञ्चालनको अनुमति दिन पाइने छैन । जसले जुन कार्यक्रम गर्न स्थल लिएको हो, उसैले तोकिएको कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
कार्यक्रम सञ्चालन गर्दा उत्सर्जन भएको फोहरको व्यवस्थापन गर्ने दायित्व आयोजककै हुनेछ । थप अस्थायी शौचालय आवश्यक पर्ने भएमा आयोजकले घुम्ती शौचालयको व्यवस्था गर्न सक्नेछन् । खुलामञ्चको चउरमा १४ हजार ६०० वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको कामपाले जनाएको छ । खुलामञ्च २३ हजार ४१५ वर्गमिटरमा फैलिएको छ । रासस