काठमाडौं,११ फागुन । भारतमा माओवादीमाथि चरम दमन भैरहेको छभने नेपालका माओवादी बेखबर देखिएका छन् । जनयुद्धका कमान्डर भनिएका पुष्पकमल दाहालले माओवादी केन्द्र पार्टी र माओवाद दुबै परित्याग गरेर नयाँ एमाले बन्ने प्रयास गरिरहनु भएको छ । त्यसैगरी डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टी र राजनीति दुबै परित्याग गरेर नयाँ कांग्रेस बन्नुभएको छ । त्यसैगरी नेकपा(माओवादी) का महासचिव नेत्रबिक्रम चन्द पनि संसदीय राजनीतिमा चुर्लुम्म डुब्नुभएको छ । प्राप्त समाचारअनुसार भारत सरकारले दशकौँदेखि जारी त्यहाँको माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरुले विद्रोह अन्त्यतर्फको अन्तिम चरण शुरुभएको बताएका हुन् । सरकारी अधिकारीहरुका अनुसार छत्तीसगढमा वर्षौंदेखि सक्रिय रहनुभएका देवजी भनेर पनि चिनिने माओवादी कमान्डर थिप्पिरी तिरुपतिले आत्मसमर्पण गर्नुभएको छ । उहाँको आत्मसमर्पणलाई सुरक्षाकर्मीहरुले विद्रोही संरचनामा ठूलो धक्का ठानेका छन् ।
छत्तीसगढका उप–मुख्यमन्त्री विजय शर्माले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको वक्तव्यमा यो अन्तिम चरण होभन्दै त्यसलाई सशस्त्र नक्सलवादको पूर्ण उन्मूलनतर्फको शक्तिशाली कदम बताउनुभएको छ । भारतले माओवादी विद्रोहीविरुद्ध व्यापक सुरक्षा अभियान तीव्र बनाइरहेको दाबि पनि गरिएको छ । हिमालयको फेदमा रहेको एक गाउँको नामबाट परिचित नक्सलवादी आन्दोलन करिब छ दशकअघि शुरुभएको थियो । त्यसयता फैलिँदै गएको यो आन्दोलन सन् २००० को दशकको मध्यतिर चरम अवस्थामा पुगेको थियो । त्यतिबेला १५ हजारदेखि २० हजारसम्म लडाकू सक्रिय रहेको अनुमान गरिएको थियो । त्यतिबेला देशको झन्डै एकतिहाइ भूभागमा विद्रोही प्रभाव देखिन्थ्यो । तर पछिल्ला वर्षहरुमा सुरक्षात्मक कारबाही र आत्मसमर्पणको लहरसँगै आन्दोलन नाटकीयरुपमा कमजोर भएको सरकारी दाबी छ । विद्रोहकाक्रममा १० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । माओवादीहरुलेभने आफूहरु वन क्षेत्रका सीमान्तकृत आदिवासी समुदायको अधिकारका लागि लडिरहेको बताउँदै आएका छन् ।
ती क्षेत्रहरुमा खानी कम्पनीहरुको चासो र बहुमूल्य प्राकृतिक स्रोतको दोहन मुख्य विवादको विषय रहँदै आएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२४ यता ५०० भन्दा बढी माओवादी विद्रोही मारिएका छन्, जसमा केही शीर्ष कमाण्डर पनि परेका छन् । आत्मसमर्पण र सुरक्षात्मक कारबाहीलाई तीव्र पार्दै सरकारले मार्च ३१ भित्र विद्रोह अन्त्यगर्ने लक्ष्य सार्वजनिक गरेको छ । गृहमन्त्री अमित शाहले एक सम्बोधनमा भारत मार्च ३१ सम्म माओवाद अन्त्यगर्न तयार रहेको बताउनुभएको छ । उहाँले फेब्रुअरी अन्त्यहुँदै गइरहेको छ र मैले पहिले भनेको कुरा दोहो¥याउँछु– मार्च ३१ सम्ममा हामी यस देशलाई माओवादी समस्याबाट पूर्णरुपमा मुक्त गर्नेछौँ भन्नुभएको थियो । उहाँले विगत तीन वर्षमा हाशिल प्रगतिको उल्लेखगर्दै यति जटिल र दीर्घकालीन चुनौती छोटो अवधिमा नियन्त्रणतर्फ उन्मुख हुनु ऐतिहासिक उपलब्धि भएको धारणा व्यक्त गर्नुभएको छ । सरकारले आत्मसमर्पणलाई निर्णायक मोडको संकेतका रुपमा प्रस्तुत गरिरहँदा, विद्रोहको सामाजिक र आर्थिक जडबारे बहसभने अझै कायम छ ।