
काठमाडौं,१२ फागुन । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरुले आपसी समन्वय र सहकार्यगर्दै एकीकृतरुपमा कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधनगर्दै उहाँले राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयासलाई अझ प्रभावकारीरुपमा कार्यान्वयनगर्दै लैजानुपर्ने बताउनुभएको थियो । अर्थमन्त्री खनालले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकारअनुसार राजश्व चुहावट नियन्त्रण र राजश्व वृद्धिमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।
समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषयमात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेखगर्दै यसको नियन्त्रणमा नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमताअनुरुप सक्रिय भूमिका निर्वाहगर्दै आइरहेको बताउनुभएको थियो । प्रविधि, जनशक्ति, कानूनी सुदृढीकरण र अन्तरनिकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भएमा राजस्व चुहावट नियन्त्रणमा दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँले उल्लेख गर्नुभएको थियो । प्रहरी नायब महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिकासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले राजस्व परिचालन र चुहावटसम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
बैठकमा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं जिल्ला प्रहरी कार्यालय मोरङ, बारा, चितवन, बाँके र कैलालीका प्रमुखहरुसँग राजस्व चुहावट तथा तस्करी नियन्त्रणका सम्बन्धमा गरिएका प्रयासहरुका बारेमा भर्चुअल माध्यमद्वारा छलफल गरिएको थियो ।