काठमाडौं,१३ फागुन । मन्त्रिपरिषद्को बैठकले न्याय परिषद्को सिफारिसबमोजिम डा दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार काठमाडौं जिल्ला न्यायाधीश भट्टलाई सो अदालतको अध्यक्षमा नियुक्त गरिएको हो । डा भट्टले त्रिभुवन विश्वविद्यालयबाट नेपालमै सर्वप्रथम सञ्चालित कानूनमा स्नातकोत्तर (एलएलएम) डिग्री प्रथम श्रेणीमा प्रथमभई उत्तीर्ण गर्नुभएको छ र सोका लागि उहाँ महेन्द्र विद्या भुषण ‘ख’ बाट विभूषित हुनुभएको थियोे । उहाँले हङकङ विश्वद्यालय हङकङबाट अन्तरराष्ट्रिय कानून र मानव अधिकार विषयमा प्रथम श्रेणीमा कानूनमा स्नातकोत्तर (एलएलएम) डिग्री हाशिल गर्नुभएको थियोे ।

कानून र न्याय क्षेत्रमा करिब दुई दशकभन्दा बढीको अनुभव प्राप्त गरेका उहाँले त्रिभुवन विश्वविद्यालयवाट विद्यावारिधी (पिएचडी) डिग्री हाशिल गर्नुभएको छ । उहाँका न्याय र कानूनका क्षेत्रमा दर्जनौं अनुसन्धानमूलक लेख रचनाहरु प्रकाशित हुनाकासाथै उहाँको लेखन, अनुसन्धान र प्रशिक्षणमा विशेष दख्खल रहेको छ । उहाँसँग राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थामा अनुसन्धान र प्रशिक्षण गर्नुभएको विशेष अनुभव रहेको छ । कानूनी क्षेत्रमा लेखक एक स्थापित र आफ्नो विषयमा विशेष दख्खल राख्ने व्यक्ति हुनुहुन्छ । रासस