काठमाडौं,१३ फागुन । बर्तमान सरकारले आगामी २१ गतेको निर्वाचनमा १२ वटा समूहबाट निर्वाचनमा सुरक्षा थ्रेट हुन सक्ने निष्कर्ष निकालेको थाहा भएको छ । जसमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहदेखि अन्य राजावादी समूह र बिभिन्न पार्टीबाट चुनावी सुरक्षामा चुनौती हुनसक्ने भनिएको छ । प्रसाईं हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहनुभएको छ । प्रसाईंकै समूहको पी.डी.एफ. (पब्लिक डिफेन्स फोर्स) र ए.टी.एफ. (एनिटाइम फोर्स) लाई पनि चुनाव बिथोल्न सक्ने समूहमा राखिएको छ । त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले चुनाव बिथोल्ने प्रकृतिको अभिव्यक्ति दिएपछि उनीनिकट समूहलाई पनि प्रहरीले निगरानीमा राखेको बताइन्छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारीगर्दै ज्ञानेन्द्रले राष्ट्रिय सहमति र समझदारीमा जोड दिनुभएको थियो । शाहले अहिलेको निर्वाचनले निकास नभई द्वन्द, अशान्ति र खिचातानी ल्याउन सक्नेसमेत बताउनु भएको थियो । त्यसपछि शाहनिकट समूह शाही युवा शक्ति नेपाललाई निर्वाचन बिथोल्न सक्ने समूहमा राखिएको छ ।
यो समूहका पशुपति खड्कादेखि सन्तोष राजावादीसम्म सुरक्षा संयन्त्रको निगरानीमा छन् । त्यसैगरी सी.पी. गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पनि चुनाव बिथोल्न सक्ने समूहमा अंकित गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चुनाव बहिष्कारमा लागेका नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको थियो । उहाँसहित यो समूहका चार जना अहिले पनि हिरासतमा रहेका छन् । त्यसैगरी विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, महेन्द्र मल्लको नेकपा जनपक्ष, ऋषिराम कट्टेलको नेपाल कम्युनिष्ट पार्टी, समाजवादी कम्युनिष्ट पार्टी नेपालको एउटा समूह, पहिचानवादी समूह, मंगोल नेसनल अर्गनाइजेसन र रोहिंग्या अर्थात् शरणार्थीलाई पनि निर्वाचनमा चुनौती हुनसक्ने समूहमा राखिएको थाहा भएको छ ।
रोहिंग्यालाईभने कसैले निर्वाचन बिथोल्न प्रयोगगर्न सक्ने भएकाले निगरानीमा राखिएको बताइन्छ । पछिल्लो चार महिनादेखि प्रहरीले निर्वाचन बिथोल्न सक्ने समूह, तिनले पार्न सक्ने प्रभाव, उनीहरुको शक्ति, सांगठनिक हैसियत र सम्भावित सुरक्षा चुनौतीको मसिनो रुपमा विश्लेषण गरेको दाबीगर्दै आएको छ । अहिले नेपाल प्रहरीले कार्यविभागका एसएसपी दयानिधि ज्ञवालीको कमान्डमा निर्वाचन सुरक्षा विश्लेषण महाशाखा गठन गरेर काम गरिरहेको छ । यो महाशाखाले देशभरका प्रहरी चौकीदेखि इलाका, जिल्ला प्रहरी कार्यालयदेखि प्रदेश प्रहरी कार्यालयसम्मबाट रिपोर्टिङ लिएर सुरक्षा विश्लेषणगर्दै सोहीअनुसार रणनीति बनाएको थाहा भएको छ ।