काठमाडौं,१४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा बिद्यमान शासन व्यवस्थामानै समस्या रहेकाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । पोखरामा राप्रपाको चुनावी कोणसभामा उहाँले अहिलेकै व्यवस्था कायमराखेर देश विकास नहुने भएकाले राप्रपाले विकल्प खोजेको उल्लेख गर्नुभएको थियो । उहाँले देशमा सुशासन भएन, राजनीतिक दलका नेताहरु भ्रष्टाचारमा रमाए भनेर सबैलेभन्दै आएका छन् । राजनीतिक दल र नेतामामात्र समस्या होइन, अहिलेको व्यवस्थामानै समस्या छन्, परिवर्तनका लागि हामीलाई भोट दिनुहोस् भन्नुभएको थियो । नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र अहिलेको नयाँ राजनीतिक दल रास्वपामासमेत कुनै भिन्नता नभएको उहाँले जिकिर गर्नुभएको थियो । अध्यक्ष लिङ्देनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको प्रस्तावक माओवादी हो ।

पुराना र नयाँ दलले गणतन्त्र, धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन् । यी सबै दलको विकल्प भनेको राप्रपा हो भन्नुभएको थियो । अध्यक्ष लिङ्देनले देशको समस्या समाधानका लागि सबैपक्ष मिलाएर नवीन समझदारी आवश्यक छ भन्नुभएको थियो । उहाँले यही फागुन २१ गतेको निर्वाचनमा शोच विचार गरेरमात्र मतदानगर्न आग्रह गर्नुभएको थियो । राप्रपाले हिजो कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कोणसभा आयोजना गरेको थियो ।

सो सभालाई पार्टीका अध्यक्ष लिङ्देनसहित क्षेत्र नं १ का उम्मेदवार बाबुराम थापा, क्षेत्र नं २ का उम्मेदवार हेमजङ गुरुङ र क्षेत्र नं ३ का उम्मेदवार अर्जुन खनालले सम्बोधन गर्नुभएको थियो ।