काठमाडौं, १५ फागुन । एमालेका अध्यक्ष केपी ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले कसैसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा रहेको उद्घोष गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलो अभियानका क्रममा पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिकारुपमा स्थापितगर्न आमनागरिकको पूर्ण साथरहेको बताउनुभएको थियो । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका ओली हाल आफ्नो क्षेत्रका बिभिन्न बस्तीमा पुगेर मतदाताहरुसँगको भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

यसैबीच अर्को एक समाचारअनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा शिवराज अधिकारीले देश पहिलाभन्ने मान्यताका साथबाट आएको निर्वाचन घोषणापत्र सकारात्मक भएको बताउनुभएको छ । नेपाल बौद्धिक परिषद्ले काठमाडौंमा आयोजना गरेको बौद्धिक विमर्श कार्यक्रममा डा अधिकारीले एमालेको घोषणापत्र यथार्थपरक र कार्यान्वयनगर्न सकिने किसिमको भएको बताउनुभएको थियो । उहाँले घोषणापत्रमा ७–९ प्रतिशत आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार अगामी पाँच वर्षमा १०० खर्बको लक्ष्य यथार्थ नजिक रहेको पनि बताउनुभएको थियो । पूर्वराजदूत डा नेत्र तिम्सिनाले एमालेले घोषणापत्रमा प्राथामिकताका पाँच क्षेत्र, तत्कालगर्ने ११ काम र समृद्धिका २५ स्तम्भ उल्लेख गरिएको बताउँदै यस पटकको घोषणापत्र यथार्थपरक भएको बताउनुभएको थियो । मानव अधिकारकर्मी विदुर सुवेदीले घोषणापत्रले सामाजिक न्याय र असमानताका सवाललाई पोलिसी तथा बजेटमा जोड्न सके घोषणापत्र कार्यान्वयनगर्न सकिने वताउनुभएको थियो ।

खाद्य अधिकार विज्ञ डा यमूना घलेले एमालेको घोषणापत्रमा प्रजातन्त्र पुनःस्थापना भए यताका उपलब्धिलाई समीक्षासहित चर्चा गरिएको र यसले देश तथा लोकतन्त्रलाई प्राथमिकता दिएको बताउनुभयो । राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईंले एमालेको घोषणापत्र युवा केन्द्रित रहेको बताउनुभएको थियो ।