काठमाडौं, १५ फागुन । नेपालको सरकारी ऋण साढे २८ खर्ब पुगेको छभने पछिल्लो सात महिनामा मात्रै पौने २ खर्ब थपिएको खुलाशा भएको छ । उपरोक्त गत साउनदेखि माघसम्म थपिएको सार्वजनिक ऋणको तथ्यांक हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको हालै सार्बजनिक एक तथ्यांकअनुसार गत माघ महिनाको प्रतिवेदनले नेपालमा सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको जनाएको छ । गत असारको सार्वजनिक ऋणको तुलनामा यो १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँले बढी हो ।

गत असारमा तिर्न बाँकी सरकारी ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । माघसम्म सरकारले तिर्न बाँकी कूल सरकारी ऋण कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.८१ प्रतिशत बराबर हुन आउँछ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपी ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । कूल सार्वजनिक ऋणमा आन्तरिक ४७.१९ प्रतिशत अथवा १३ खर्ब ४९ अर्ब र वैदेशिक ५२.८१ प्रतिशत अथवा १५ खर्ब ९ अर्ब रुपैयाँ छ । पछिल्लो सात महिनामा सरकारले २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ ऋण संकलन गरेको पाइएको छ । यो वार्षिक लक्ष्यको ४२.८९ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋणको प्राप्ति ६०.१३ र वैदेशिक ऋणको १६.१८ प्रतिशत छ ।

यसरी संकलन गरिएको कूल सार्वजनिक ऋणमा आन्तरिक ऋण ८५.२० प्रतिशत र वैदेशिक १४.८० प्रतिशत छ । यसका आधारमा यस वर्ष तयभएको कूल ऋण संकलनको लक्ष्य प्राप्तिगर्न ३ खर्ब ४० अर्ब १७ करोड रुपैयाँ उठाउनुपर्छ । जसमा आन्तरिक ऋण १ खर्ब ४४ अर्ब ३३ करोड र वैदेशिक ऋण १ खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ छ । गत माघसम्म सरकारले ऋणको साँवा ब्याज भुक्तानीका लागि २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ४९.५५ प्रतिशत हो । यस वर्ष सरकारले ऋणको साँवा ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको पाइएको छ ।