स्लामावाद । पछिल्लो हवाई आक्रमण र सीमापार झडपपछि पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द अब खुला युद्धमा रुपान्तरित भएको घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले आज शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत देशको धैर्य समाप्त भएको जनाउँदै अब दुई देशबीच खुला युद्धको अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले नाटो सेना फिर्ता भएपछि पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरेको तर तालिबान सरकारले त्यसको विपरीत बाटो रोजेको आरोप लगाउनुभयो । तालिबानले अफगान जनताको कल्याण र क्षेत्रीय स्थिरतामा ध्यान केन्द्रितगर्ने अपेक्षा गरिए पनि अफगानिस्तानलाई भारतको उपनिवेश बनाइएको, विश्वभरका उग्रवादीलाई एकत्रित गरिएको र आतंकवाद निर्यात शुरु गरिएको उहाँको दाबी थियो । उहाँले हाम्रो धैर्य अब समाप्त भएको छ । अब हामीबीच खुला युद्ध छ उल्लेख गर्नुभयो । उहाँका अभिव्यक्तिबारे अफगान सरकारी अधिकारीहरुको तत्काल कुनै प्रतिक्रिया आएको छैन । रक्षामन्त्री आसिफको टिप्पणी पाकिस्तानले काबुल, कान्दाहार र पक्तिया प्रान्तमा हवाई आक्रमण गरेको केही घण्टापछि सार्वजनिक भएको हो । पाकिस्तानी अधिकारीहरु र अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार यी आक्रमणहरु अफगानिस्तानबाट भएको सीमापार आक्रमणको प्रत्युत्तरस्वरुप गरिएको दाबी गरिएको छ । केही महिनाअघि कतार र टर्कीको मध्यस्थतामा युद्धविराम भएको भए पनि पछिल्लो घटनाक्रमले तनाव पुनः चुलिएको देखिएको छ ।

दुवै देशले एकअर्कालाई ठूलो क्षति पु¥याएको दाबी गरेका छन् तर ती विवरण स्वतन्त्र रुपमा पुष्टि हुन सकेका छैनन् । अफगानिस्तानको रक्षा मन्त्रालयले रातिको समयमा भएको कारबाहीमा ५५ पाकिस्तानी सैनिक मारिएको, केहीको शव अफगानिस्तानतर्फ लगिएको र धेरैलाई जीवितै नियन्त्रणमा लिइएको जनाएको छ । मन्त्रालयका अनुसार आठ अफगान सैनिक मारिएका र ११ जना घाइते भएका छन् । १९ पाकिस्तानी चौकी र दुई आधार ध्वस्त पारिएको तथा बिहीबार शुरु भएको झडप करिब चार घण्टापछि मध्यरातमा रोकिएको दाबी गरिएको छ । यता पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले दुई पाकिस्तानी सैनिक मारिएको र तीनजना घाइते भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहबाज सरिफका प्रवक्ता मुशर्रफ अली जैदीले कुनै पनि पाकिस्तानी सैनिक पक्राउ परेको दाबी अस्वीकारगर्दै कम्तीमा १३३ अफगान लडाकू मारिएको र २०० भन्दा बढी घाइते भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार २७ अफगान चौकी ध्वस्त पारिएका र नौ जना लडाकूलाई नियन्त्रणमा लिइएको छ । हताहत कहाँ भएका भन्ने स्पष्ट नगरिए पनि काबुल, पक्तिया र कान्दाहारका सैन्य लक्ष्यमा आक्रमणबाट ठूलो क्षति पुगेको अनुमान गरिएको उहाँले जनाउनुभयो । इस्लामाबादस्थित दुई वरिष्ठ सुरक्षा अधिकारीले केही सीमा चौकीमा अफगान सेनाले सेतो झण्डा उठाएको दाबी गरेका छन्, जसलाई सामान्यतः गोलीबारी रोक्ने संकेतकारुपमा लिइन्छ । नाम उल्लेख नगर्ने सर्तमा उनीहरुले पाकिस्तानी सेनाले अफगान तालिबानको अप्रेरित आक्रमणको कडा जवाफ दिएको र सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण तालिबान चौकीहरु ध्वस्तपारेको बताएका छन् । रक्षामन्त्री आसिफले तालिबान सरकारले महिलासहितका आधारभूत मानव अधिकारलाई इस्लाम अन्तर्गत प्रत्याभूत गरिएका अधिकारसमेत बेवास्ता गरेको आरोप पनि लगाउनुभयो । यद्यपि त्यसबारे विस्तृत प्रमाण प्रस्तुत गरिएको छैन ।

पाकिस्तानले प्रत्यक्ष र मित्र राष्ट्रमार्फत स्थिरता कायम गर्न प्रयास गरेको तर पाकिस्तानलाई लक्षित गरी आक्रामकता बढेपछि आफ्ना सशस्त्र बलले निर्णायक जवाफ दिएको उहाँको भनाइ थियो । तनाव बढेसँगै मानवीय असर पनि देखिन थालेको छ । पाकिस्तानका अधिकारीहरुले उत्तरपश्चिमी तोरखाम नाकाबाट फर्किन प्रतीक्षारत दर्जनौँ अफगान शरणार्थीलाई झडप फैलिएपछि सुरक्षित स्थानमा सारिएको बताएका छन् । पाकिस्तानले अक्टोबर २०२३ देखि कागजातविहीन आप्रवासीविरुद्ध व्यापक कारबाही शुरुगरेको थियो । त्यसक्रममा धेरैलाई गिरफ्तारी र जबरजस्ती निष्कासनबाट जोगिन देश छाड्न आग्रह गरिएको थियो भने अरुलाई निष्कासन गरिएको थियो । इरानले पनि सोही समयमा आप्रवासीविरुद्ध कडाइ शुरुगरेको थियो । त्यसयता लाखौँ मानिसहरु सीमा पारगर्दै अफगानिस्तान फर्किएका छन् । तीमध्ये दशकौँअघि पाकिस्तानमा जन्मिएर त्यहीँ जीवन र व्यवसाय स्थापना गरेका व्यक्ति पनि समावेश छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार गत वर्ष मात्र २९ लाख मानिस अफगानिस्तान फर्किएका थिएभने यस वर्ष अहिलेसम्म करिब ८० हजार जना फर्किसकेका छन् । रासस, एपी