मोहनविक्रम सिंह
जनताले धेरैतिर यो गुनासो गरेको पाइन्छ कि राष्ट्रिय जनमोर्चा सही छ तर सानो छ । त्यही प्रकारले त्यसका अध्यक्ष कमरेड चित्रबहादुर केसीलाई पनि जनताले आमरुपमा विरोध गरेको पाइँदैन । उनीहरुले यो देखेका छन्, उहाँ पहिले लेखा समितिको सभापति बन्नुभयो । त्यो बेला बंैकमाथि अरबौँ रुपैयाँको घोटालाका मुद्धा थिए । ती मुद्धाबाट उन्मुक्ति पाउन उहाँलाई करोडौँ रुपैयाँ घुस दिन खोजिएको थियो तर उहाँले कहिल्यै कसैबाट एक रुपैयाँ पनि घुस लिनुभएन । उहाँ उपप्रधानमन्त्रीहुँदा पनि उहाँले कुनै घुस नलिएको मात्र होइन, भ्रष्टाचारमा बदनाम भएका आफ्नै कार्यालयका कतिपय अधिकृतलाई पनि बर्खास्त गर्नुभयो तर त्यस्ता व्यक्तिले तुरुन्तै सर्वोच्च अदालतबाट स्टेअर्डर ल्याएर आफ्नो पदलाई कायम राखे र त्यसरी भ्रष्टाचार विरुद्धको उहाँको कारवाहीलाई असफल गराइयो । त्यसबाट नेपालको प्रशासनयन्त्रमा भ्रष्टाचारको कति धेरै बोलवाला छ र त्यसालाई न्यायपालिकाले समेत कति धेरै संरक्षणगर्ने गर्दछ ? त्यसमा कुनै शंका रहन्न । त्यही प्रकारले राष्ट्रिय जनमोर्चाको तर्फबाट गत ३ दशकका बिचमा सांसद बनेका एउटा सांसदको पनि आर्थिक अनियमितता वा भ्रष्टाचारी गरेकोको कुनै रेकर्ड छैन तर ठूलो परिणाममा भ्रष्टाचार गरेका पार्टीका उम्मेदवारलाई जनताले धेरै भोट दिन्छन् । त्यसकारण चुनावमा ठूलो परिणाममा खर्च गरेर उनीहरुले धेरै सिट जित्छन् र तिनीहरु ठुला पार्टी बन्छन् तर कुनै प्रकारको आर्थिक अनियमितता वा भ्रष्टाचार नगर्ने पार्टी राष्ट्रिय जनमोर्चालाई जनताले कम भोट दिन्छन् र त्यस कारण, त्यो ‘सानो’ पार्टीका रुपमा खुम्चिँदै आउनु परेको छ । भ्रष्टाचार गर्ने पार्टीले अरबौँ रुपैयाँ भ्रष्टाचारद्वारा जम्मा गर्छन् र पुनः त्यो पैसाले भोट किनेर ठुला पार्टी बन्दछन् तर राष्ट्रिय जनमोर्चाले कुनै भ्रष्टाचार गर्दैन र नाजायज प्रकारले धनराशि पनि जम्मा गर्दैन ।

त्यसपछि त्यो चुनावको बेलामा पैसा होइन, आफ्नो नीति र कार्यक्रम लगेर नै जनताका बिचमा जान्छ । अब यो विचार गर्ने कुरा हो ः राष्ट्रिय जनमोर्चाले आर्थिक अनियमितताद्वारा पैसा जम्मा गर्ने प्रयत्न नगर्नु वा भ्रष्टाचार गरेर तथा जनतालाई पैसा दिएर भोट किन्न कुनै प्रयत्न नगर्नु गलत हो ? कुनै पनि न्यायप्रेमी व्यक्तिले राष्ट्रिय जनमोर्चाको त्यस प्रकारको व्यवहारलाई अर्थात् भ्रष्टाचार गरेर पैसा कमाउने प्रयत्न नगर्ने वा पैसाद्वारा भोट नकिन्ने कार्यलाई गलत बताउन सक्ने छैनन् । त्यसको निष्कर्ष यो निस्किन्छ, भ्रष्टाचार गरेर वा अन्य कुनै नाजायज तरिकाले जम्मा गरेको पैसाबाट जसले भोट किनेर ठूलो पार्टी बन्न सफल भएका छन्, त्यो प्रणालीलाई समर्थन गर्ने वा विरोध गर्ने ? यो एउटा विचारणीय प्रश्न हो र त्यसप्रति जनताको गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा यो पनि प्रश्न उठाउन सकिन्छ ः केही त्यस प्रकारको भ्रष्ट प्रणालीद्वारा ठूलो पार्टी बन्नु सही हो ? र जनताले त्यस प्रकारको ठूलो पार्टीलाई नै समर्थन गर्नु सही हुन्छ ? सही कुरा यो हुनेछ, पैसा छरेर भोट किन्न आउने पार्टी वा उम्मेदवारलाई भोट दिन बन्द गर्नुपर्दछ । त्यस्ता भ्रष्ट उम्मेदवारले चुनाव हुनु एकदुई दिनपहिले नै पैसा बाँड्ने काम शुरु गर्दछन् र अहिले उनीहरुको पैसा बाँड्ने कालो धन्दा शुरु हुने बेला नजिक आउन थालेको छ र जनता त्यस प्रकारको कालो धन्दा बन्द गर्न सचेत र साहसपूर्वक अगाडि आउनुपर्दछ ।

यदि चुनावको बेलामा जनताले त्यस प्रकारको कालो धन्दालाई बन्द गर्न सके भने राष्ट्रिय जनमोर्चा पनि अहिले जस्तो ‘सानो’ पार्टी नभएर ठूलो र शक्तिशाली पार्टीमा बदलिनेछ र त्यसले जनताको महान् आन्दोलनद्वारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्था समेतलाई समाप्त गर्न खोजेका र देशको राष्ट्रियता र सार्वभौमिकतालाई सौदाबाजी गर्ने तत्त्वका विरुद्ध संसद्भित्र वा बाहिर पनि पूरै सशक्त प्रकारले आवाज उठाउन वा सङ्घर्ष गर्न सक्नेछ । वास्तवमा राष्ट्रिय जनमोर्चाले सही नीति र सही कार्यशैली अपनाएको हुनाले र त्यसले कहिल्यै पनि भ्रष्टाचार नगरेको हुनाले नै त्यो ‘सानो’ भएको हो । अब यो कुरा जनताले निर्णय गर्ने कुरा हो– भ्रष्टाचारको बलमा कमाएको पैसाबाट भोट किन्न आउने पार्टी र त्यसका उम्मेदवारलाई धेरै भोट दिएर उनीहरुलाई ठूलो बनाउँदै जाने वा सही नीति र कार्यशैली अपनाउने तथा कुनै प्रकारको भ्रष्टाचार नगर्ने पार्टीलाई धेरै भोट दिएर ठूलो बनाउने ? जबसम्म चुनावमा भ्रष्ट कार्यशैलीको प्रवृत्ति रहिरहन्छ, देशमा भ्रष्टाचार र कुशासन व्याप्त भइरहने छ र देशको कहिल्यै पनि विकास हुनेछैन । त्यो अवस्थामा राष्ट्रिय जनमोर्चाजस्तो कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने पार्टीलाई ठूलो सङ्ख्यामा भोट दिनु नै देशमा भ्रष्टाचार र कुशासनको अन्त्य तथा देशको विकासका लागि एक मात्र विकल्प हो । जबसम्म देशमा चुनावमा पनि त्यस प्रकारको भ्रष्टाचारले प्रमुख र निर्णायक भूमिका खेलिरहनेछ, सयओटा चुनाव भए पनि भ्रष्टाचार र कुशासनको अन्त्य हुने छैन र देशको विकास हुन सक्ने छैन । अब यो फैसलागर्ने जिम्मा जनताकै हातमा छ ।

केही पैसाको लोभमा भ्रष्ट तत्त्वलाई भोट दिएर देशको भविष्य माथि सधैँ कुठाराघात गरिरहने वा चुनावमा हुने त्यस प्रकारको कालो धन्दालाई सधैँका लागि बन्द गरेर देशको विकासलाई अगाडि बढाउने ? त्यसबारे जनताले लिने सही फैसलामाथि देशको भविष्य वा देशको विकास निर्भर गर्नेछ । त्यस सन्दर्भमा एउटा अर्को प्रश्न पनि विचारणीय छ ः अहिले चुनावको बेलामा साम्राज्यवादी शक्तिले पनि ठूलो पैमानामा पैसा खर्च गरेर चुनावलाई प्रभावित गर्ने कोसिस गर्दछन् । पहिले भारतीय साम्राज्यवादले त्यस प्रकारको नीति अपनाउने गर्दथ्यो, त्यसको त्यो नीति अहिले पनि कायम छ तर त्यो प्रश्नमा अब अमेरिकी साम्राज्यवाद धेरै अगाडि आएको छ । अमेरिकी साम्राज्यवादको मुख्य सरोकारको विषय नेपालमा आफ्नो कठपुतली सरकार कायमगर्नु र त्यसरी नेपाललाई आफ्ना साम्राज्यवादी स्वार्थको पक्षमा पूरै उपयोगगर्नु हो । अहिले अमेरिकाको चीनसितको प्रतिस्पर्धा धेरै नै बढेर गएको छ र त्यसको रणनीति तिब्बतमाथि आक्रमण गरेर त्यसलाई ‘स्वतन्त्र’ बनाउनु र त्यहाँ दलाई लामालाई पुनस्र्थापना गर्नु पनि हो ।

त्यो रणनीति पूरा गर्न नै त्यसले नेपालमा आफ्नो कठपुतली सरकारको निर्माण गर्न चाहन्छ र त्यसका लागि नै त्यसले अहिलेको चुनावलाई उपयोग गर्न चाहन्छ । त्यति मात्र होइन, त्यो उद्देश्य पुरा गर्न नै त्यसले नेपालमा संसद्को विघटन गर्न लगाएको हो र नयाँ चुनाव पनि गर्न लगाएको हो । त्यसले संसद्को सत्ता र प्रतिपक्ष दुबैतिर आफ्नो नेतृत्व कायम गर्न चाहन्छ र त्यही कुरामाथि ध्यान दिएर त्यसले एकैसाथ प्रधानमन्त्रीका कैयौँ उम्मेदवारलाई अगाडि सारेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि उक्त नीतिअन्तर्गत सत्ता र प्रतिपक्षमा आफ्ना उम्मेदवारलाई चुनावमा विजय बनाउनका लागि ठूलो पैमानामा पैसा खर्च गरिरहेको छ । अमेरिकी पैसामा बिकेर अमेरिकाको नेपालमा आफ्नो कठपुतली सरकार बनाएर नेपाललाई युद्धभूमि बनाउने अमेरिकी साम्राज्यवादी षड्यन्त्रलाई असफल पार्न पनि जनता अगाडि आउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । लेखक नेकपा(मसाल) का महामन्त्रि हुनुहुन्छ ।