काठमाडौं,१७ फागुन । यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष एवं वरिष्ठ यातायात व्यवसायी हिरा उदासको निधन भएको छ । महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले शोक विज्ञप्ति जारीगरी पूर्वअध्यक्ष उदासको उपचारकाक्रममा हिजो विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा निधन भएको जानकारी दिनुभएको छ । उदास ०६१ वैशाख २१ देखि २३ गतेसम्म धरानमा सम्पन्न महासंघको महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

उहाँको निधनले महासंघले एक कुशल अभिभावक गुमाएको र सिंगो सार्वजनिक यातायात क्षेत्र स्तब्ध भएको महासंघले जनाएको छ । स्व उदासले सार्वजनिक यातायात क्षेत्रको बृहत् एकता, समुन्नत विकास र सुधारमा पुर्याउनु भएको अतुलनीय योगदानप्रति उच्च सम्मानगर्दै महासंघले यातायात क्षेत्रका धरोहर व्यक्तित्वको निधनले यातायात जगत्मा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । महासंघले उदासको योगदानको स्मरणगर्दै केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र महासंघका देशभरका सदस्य कम्पनीको कार्यालयमा तीन दिनसम्म झन्डा आधा झुकाउने जनाएको छ ।