काठमाडौं,१७ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवामा खटिनेका लागि निर्वाचन आयोगले सवारी पास वितरण शुरुगरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीले संयुक्तरुपमा सवारी पास वितरण शुरुगरेका हुन् । गत शुक्रबारदेखि शुरुभएको सवारी पास वितरणमा अत्यावश्यक सेवामा खटिनेको लाम बढ्न थालेपछि आज आइतबारदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरबाट पनि थप जनशक्ति मगाउन लागिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभएको छ ।
आज र फागुन १८ गते फागु पूर्णिमा अर्थात् होलीको सार्वजनिक बिदामा पनि सवारी पास वितरण गरिने पनि उहाँले जानकारी दिनुभएको छ । आयोगमा गत शुक्रबारदेखि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रशासकीय अधिकृत र गृह मन्त्रालयका शाखा अधिकृतसहितको डेस्क (कक्ष) खडा गरिएको छ । सो डेस्कमा आयोगका तर्फबाट सहायक प्रवक्ता जिसीले संयोजन गरिरहनुभएको छ । आयोग र जिल्ला प्रशासनको समन्वयमा दोहोरो नपर्ने गरी पास वितरण भइरहेको छ । गत शुक्रबार पहिलो दिन ६० वटा पत्रबाट सवारी पास वितरण गरिएको थियो । एउटा पत्रबाट अधिकतम पाँच वटासम्म पास वितरण गरिएको आयोगले जनाएको छ ।