काठमाडौं,१७ फागुन । नेपाल सरकारले सरकारले तत्कालका लागि खाडी मुलुक जाने कामदारको श्रमस्वीकृति स्थगित गरेको छ । मध्यपूर्वमा देखापरेको असामान्य परिस्थितिलाई मध्यनजरगर्दै सरकारले आज १७ गते आइतबारबाट श्रमस्वीकृति स्थगित गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजरगर्दै ती देशमा श्रमस्वीकृति दिने कार्य स्थगित गरिएको बताउनु भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदानगर्दै आएको छ । इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका बिभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गर्दै आएको छ ।

इरानले युनाइटेड अरब इमिरेट्स (युएई), कतार, ओमान, कुवेतलगायत देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पमा आक्रमण थालेको हो, जसलेगर्दा त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढ्दै गएको छ । मन्त्री भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रमस्वीकृति प्रदान कार्य स्थगित गरिएको बताउनु भएको छ । सम्बन्धित देशमा जान विमानस्थलमा बसेका मानिसलाई फर्केर आफ्नो घर जान अनुरोध गरिएको छ । बढ्दो तनावबिच ती देशमा सुरक्षा सतर्कता बढेको भन्दै सरकारले विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरेको हो । त्यस्तै श्रम मन्त्रालयमा रहेको कल सेन्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको मन्त्री भण्डारीले बताउनु भएको छ ।

सरकारले तनाव बढेर नेपालीको उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा त्यसका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ । मन्त्री भण्डारीले परिस्थिति के कसरी विकसित हुन्छ, त्यो विकसित हुने घटनाक्रमको आधारमा भोलि–पर्सि गएर उद्धार गर्नुप¥योभने त्यसका लागि पनि योजना बनाउने काम गरिराखेको बताउनु भएको छ ।