काठमाडौं, १८ फागुन । मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ । निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उमेदवारका । झन्डै तीन दशकदेखि बसोबासगर्दै आएको यो बस्तीमा बादी समुदायसहित अन्य समुदायका १०० बढी घर परिवारको बसोबास छ । भारतमुखी रोजगारी र दैनिक मजदुरी गरेर जीविकोपार्जनगर्दै आएका यहाँका मतदाताको आशा थियो, निर्वाचनमा दल तथा उम्मेदवारहरुले आफ्ना प्रतिबद्धतामा बादी समुदायलाई छुने खास योजना तथा कार्यक्रम ल्याउनेछन् । तर त्यो आश निराशामा परिणत मात्रै भएन, भोट माग्नसमेत उम्मेदवारहरु बस्तीमा नपुगेपछि बादी समुदाय निराश छन् ।

यहाँका स्थानीय बिरभाने वादीले अहिलेसम्म हाम्रो बस्ती कोही नेता भोट माग्न आएनन् । यहाँ जंगली जनावरको डरले राति भाग्नुपर्ने अवस्था छ नेता नआउँदा हाम्रो माग राख्न पाएनौँ भन्नुभयो । उम्मेदवाहरु बस्तीमा नपुग्दा यहाँका स्थानीयलाई चुनावले छोएको छैन । भारतसँग सीमा जोडिएको यो बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतङ्क, बाढी तथा कटान, सुकुम्वासी समस्या, अवैध तस्करी र सीमा विवाद प्रमुख समस्याकारुपमा रहेको यहाँका स्थानीय सीता बादीले बताउनुभयो ।

उहाँले हाम्रो समस्या धेरै छन् उम्मेदवारहरु भोट माग्न आएनन् हामीले पनि हाम्रो पीडा सुनाउँथ्यौँ । सीमानामा हामी धेरै समस्या सहेर बसेका छौँ भन्नुभयो । हरेक चुनावमा भोट माग्नपुग्ने दल तथा उम्मेदवारहरु यसपटक घरदैलोमा नआएपछि बादी समुदाय माग राख्न नपाएकामा दुःखी छन् । सीमानाकाको बस्तीमा अनेक दुःख सहेर पनि सीमाको रक्षाका लागि यहाँ बसोबास गरिरहेको उहाँको भनाइ छ । रासस