
काठमाडौं, १९ फागुन । आज अपरान्ह ३ बजेबाट खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । सो ग्रहण ७ बजे सकिने छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार ग्रहणले आज मंगलबार दिउँसो तीनबजेर ३४ मिनेटमा स्पर्शगर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको जनाएको छ । चन्द्रग्रहण स्पर्शहुँदा खग्रास भएपनि नेपालमा चन्द्रोदय भएपछिभने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभएको छ । बेलुकी छबजेर तीनमिनेट जाँदा चन्द्रोदयहुँदानै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुने छ । बेलुकी सातबजेर दुई मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एकघण्टा चन्द्रग्रहण देखिनेछ ।
पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नुनै चन्द्रग्रहण हो । यो ग्रहण यसबर्ष नेपालबाट दोश्रोपटक ग्रहण देखिन लागेको हो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्मगर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।