काठमाडौं, २१ फागुन । आजको चुनाव नसकिँदै फेरी मध्यवधीको चर्चा हुन थालेको छभने दलहरु गठबन्धनको चक्करमा लागेको देखिएको छ । यसैक्रममा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउन कठीन रहेको बताउनुभएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ को मतदान केन्द्रबाट आज बिहान मतदान गरेपछि स्थानीय समाचारदाताहरुलाई प्रक्रियादिँदै उहाँले उपरोक्त कुरा बताउनु भएको हो ।

उहाँले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गर्नुभएको थियो । उहाँले आजको निर्वाचनलाई गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछिको देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखागर्ने कडीका रुपमा समेत चित्रण गर्नुभएको थियो । आज भैरहेको निर्वाचनको नतिजाकाबारेमा विश्लेषणगर्दै उहाँले नेपालको वर्तमान निर्वाचन प्रणालीले एकल बहुमतलाई निषेध गरेको तर्क गर्नुभएको थियो । ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सिट रहेको व्यवस्थामा कुनैपनि दलले बहुमत ल्याउनु फलामको चिउरा चपाउनु सरह रहेको उहाँको भनाई थियो । नेता पाण्डेले छिमेकी मुलुक बंगलादेशको उदाहरणदिँदै नेपालमा संविधानका मुख्य एजेण्डालाई थाँती राखेर चुनाव गरिएकोमा असन्तुष्टि समेत जनाउनुभएको थियो ।

बंगलादेशमा चुनावसँगै जनमत संग्रह गरेर प्रधानमन्त्रीको कार्यकाल र सदनको स्वरुपकाबारेमा निर्णय लिइएको प्रशंग उल्लेखगर्दै उहाँले नेपालमा भने राजनीतिक दलहरु सरकार बनाउने र प्रधानमन्त्री तोक्ने होडमा मात्र लागेको टिप्पणी गर्नुभएको थियो ।