जेनेभा, २३ फागुन । संयुक्त राष्टसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा बढ्दो युद्ध तथा हिंसाबारे गम्भीर चिन्ता व्यक्तगर्दै सबै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न शिष्ट र सकारात्मक कदम चाल्न आग्रह गर्नुभएको छ । जेनेभामा हिजो शुक्रबार पत्रकारहरुसँगको संवादमा उहाँले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि शुरुभएको संकट अहिले तीव्र रुपमा फैलिरहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार, विश्वले अहिले यस संकटलाई नियन्त्रण गर्न र बढ्न नदिन ठोस कदमहरु देख्न आवश्यक छ । टर्कले युद्धमा संलग्न पक्षहरुलाई तत्काल शान्ति प्रक्रियालाई अवसर दिन र थप विनाश रोक्ने उपायहरु अपनाउन विनम्र अनुरोध गर्नुभयो । साथै अन्य देशहरुलाई पनि युद्धमा संलग्न पक्षहरुलाई पछि हट्न शान्तिपूर्ण रुपमा आग्रह गर्न उहाँले आग्रह गर्नुभयो ।उहाँले यदि हामी नागरिकहरुलाई थप आतङ्क र विनाशबाट जोगाउन चाहन्छौं भने संयम र समझदारी अपरिहार्य छन् भन्नुभयो ।

यसैबीच हिजो शुक्रबार इरान र लेबनानमा नयाँ आक्रमण भएको समाचार आएको छ । इजरायलले मध्यपूर्व युद्धलाई नयाँ चरणमा लैजाने चेतावनी दिएको छ, जसले क्षेत्रीय मात्र होइन, विश्वव्यापी असर पनि पारिरहेको छ । टर्कले विशेषगरी लेबनानको अवस्थाबारे गम्भीर चिन्ता व्यक्तगर्दै इजरायलमाथिको आक्रमण र त्यसको जवाफमा इजरायलले गरेको कडा कारबाहीले लाखौँ मानिस विस्थापित भएको बताउनुभयो । उहाँले विनम्रतापूर्वक तत्काल युद्धविराम घोषणा गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार कानून, मानवीय कानून तथा संयुक्त राष्टसंघको चार्टरको पालनामा विश्वका नेताहरुको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो । टर्कले अन्त्यमा शान्तिपूर्ण समाधानको महत्त्वमा जोडदिँदै हामीले अझ धेरै संकट र विनाशको आगो फैलिन दिन सक्दैनौँ भन्नुभयो । रासस,एएफपी