काठमाडौं, २३ फागुन । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य पदका लागि गत बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्तगरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका हर्षबहादुर बमले सात हजार ९३३ मत प्राप्त गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले दुई हजार १३७ र नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । ०३३ माघ १५ गते पचालझरना गाउँपालिका ९ (साबिकको नानीकोट गाविस. ८ कोटिला) कालिकोटमा जन्मिनुभएका शाही वडीमालिका माध्यामिक बिद्यालय रास्कोटबाट एसएलसी उत्तीर्ण गर्नुभएको छ ।

०४८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका उहाँले नेकपा मसाल (एकता केन्द्र)बाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । पार्टी सदस्यता लिएपछि उहाँ अर्धभूमिगत हुनुभएको थियो । उहाँ ०५२ सालदेखि नेकपा (माओवादी) पार्टीको भूमिगत राजनीतिमा संलग्न हुनुभएको थियो । तत्कालीन जनयुद्धमा होमिएसँगै शाहीले पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्नुभएको थियो ।