वाशिंटन २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गर्नुभएको छ । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित शील्ड अफ द अमेरिकाज समिट कार्यक्रममा पश्चिमी १२ देशका नेताहरुलाई सम्बोधनगर्दै उहाँले यस्तो बताउनसभएको छ । ट्रम्पकाअनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पु¥याएको छ । उहाँले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गर्नुभयो । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको छ र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताउनुभएको छ । यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो सैन्य अभियान शुरुगरेको बताउनुभएका थिए ।
उक्त अभियानपछि क्षेत्रीय तनाव तीव्ररुपमा बढेको छ । इरानले त्यसको प्रतिकारस्वरुप मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी र इजरायली लक्ष्यहरुमा लगातार प्रतिआक्रमण गरिरहेको बताइएको छ । अर्धसरकारी तस्निम समाचार एजेन्सीका अनुसार पछिल्लो एक साताको अवधिमा इरानी सेनाले करिब ६०० वटा मिसाइल प्रहार गरेको छभने करिब दुईहजार ६०० वटा ड्रोन प्रयोगगरी आक्रमण गरेको जनाएको छ । ती आक्रमणहरु अमेरिका र इजरायलसँग सम्बन्धित करिब २०० सैन्य तथा रणनीतिक लक्ष्यहरुमा केन्द्रित रहेको बताइएको छ ।
विश्लेषकहरुका अनुसार अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य गतिविधिले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था झन् संवेदनशील बनाएको छ । पछिल्ला घटनाक्रमले क्षेत्रीय द्वन्द थप फैलिने जोखिम बढाएकोभन्दै अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताइएको छ । रासस,सिन्ह्वा