काठमाडौं, २६ फागुन । सिरहामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारीगर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतकाअनुसार ग्यास अभावको मौका छोपेर पसलेहरुले अत्यधिक मूल्य असुल्न थालेका हुन् । उहाँले दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो । निर्धारित मूल्यमा दुई सिलिन्डरको तीन हजार ८२० रुपैयाँ पर्नुपर्ने हो । नौ हजार रुपैयाँ भनेपछि कसरी तिर्नु ? त्यसपछि रित्तै हात फर्किनुप¥यो भन्नुभएको छ । सिरहा नगरपालिका–६ मा चियानास्ता पसल सञ्चालनगर्दै आएका प्रमोद यादवले पनि निर्धारण गरिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय चलाउन कठिन भएको बताउनुभयो ।
उहाँले सिलिन्डर किन्दा चारहजार ५०० रुपैयाँ तिर्नुपर्छ । त्यति महँगोमा किनेर कसरी खर्च धान्नु ? अब खाना पनि खान नसकिने अवस्था आउला कि भन्ने चिन्ता बढेको छ भन्नुभयो । खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एकहजार ९१० रुपैयाँ रहेको छ । तर बजारमाभने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकारकर्मीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तुरुन्त अनुगमनगर्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले कालोबजारी गर्नेविरुद्ध कारबाही गरिने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।
कालोबजारी कानूनविपरीत काम भएकाले कोही दोषी पाइए कारबाही हुने उहाँले बताउनुभयो । उहाँले हामी वाणिज्य कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन गर्नेछौँ, कालोबजारी गरेको पाइए कानूनबमोजिम कारबाही हुन्छ भन्नुभएको छ । नेपाल आयल निगमका स्थानीय वितरकहरुले ढुवानी र आपूर्ति व्यवस्थापनमा समस्या हुनुका साथै निर्वाचनका कारण तीन दिन सिमाना बन्द गरिनु उपभोक्ताहरुले पनि ग्यास भण्डारण गरेर राख्नुलगायत कारणले बजारमा अभाव देखिएको बताएका छन् । रासस