काठमाडौं,३० फागुन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागूगरेको छ । बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधानगर्न हिजो शुक्रबार सरोकारवालासँगको छलफलपछि प्रशासनले ग्यास वितरणलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रणगर्न विशेष निगरानी बढाउने भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रुपमा अशक्त तथा अपांगता भएका व्यक्ति तथा कोठा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ ।
यी लक्षित वर्गका व्यक्तिलाई ग्यास प्राप्त गर्न समस्या भएमा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६०–५६५२००१ मा सम्पर्क गरी जानकारी गराउन सकिने सूचनामा उल्लेख गरिएको छ । नेपाल आयल निगमबाट भएको निर्णय अनुरुप ग्याँस बिक्री वितरण गरी ग्यास उद्योगी तथा विक्रेताले आफूले प्राप्त गरेको र बिक्री गरेको परिमाणको स्पष्ट अभिलेख राख्नुपर्नेछ । उक्त विवरण दैनिक रुपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । विवरणमा अनियमितता भेटिएमा कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।
प्रशासनले आम उपभोक्तालाई नजिकका बिक्रेतासँग सम्पर्क गरेर ग्यास लिन, आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न तथा ग्यासको अभाव कमगर्न विद्युतीय चुल्हाको प्रयोग बढाउन आग्रह गरेको छ । कतै ग्यास लुकाइछिपाइ वा गैरकानूनी रुपमा बिक्री भइरहेको जानकारी पाएमा टोल–फ्री नम्बर वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत अनुरोध गरिएको छ । सूचनामा ग्यास वितरण प्रणालीलाई न्यायोचित बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।