काठमाडौं,३० फागुन । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कलोपत्रे (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि उक्त समयावधिमा रातका समयमा यातायातका साधान सञ्चालनमा रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इािन्जनियर सुनम योगेशले बताउनुभएको छ । उहाँकाअनुसार उक्त सडकखण्ड कालोपत्रका लागि आगामी चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएका उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपांग्रे्र सवारी साधन चल्न रोकलगाइने भएको छ । यस्तै उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोगगर्न आग्रह गरिएको छ ।

यसैगरि टिपर र ट्रकलगायत (पास लिएकासमेत)मालबहाक सवारीका साधनलाई चौबिसै घण्टा चलाउन रोक लगाइएको हो । उक्त सडकखण्डमा निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यलयले पुरानो ठेक्का रद्ध गरेको पाँच महिनापछि गत साउनमा पुनःबोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताउनुभयो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्ध गरेको थियो । सम्झौताका समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनीसंग ठेक्का रद्धगरेको हो । सडक बिस्तारको काम कम्पनीले ०७९ जेठ २० मा २२ महिना अर्थात् ०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रुपमासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रागर्न बाध्य भएका छन् । उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजरगर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्रगर्ने कार्यालयले योजना बनाएको छ । रासस