काठमाडौं,२८ फागुन । तनहुँको आँबुखैरेनी–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलबिद्युत केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः बिद्युत उत्पादन कार्य शुरु गरिएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्णरुपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा सिभिल संरचनाका कार्य निर्धारित समयमै सम्पन्नगरी केन्द्रले पुनः बिद्युत उत्पादन शुरुगरेको हो । नेपाल बिद्युत प्राधिकरण अन्तर्गतका बिद्युत केन्द्रहरुमध्ये क्षमताका हिसाबले तेस्रो र वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठूलो मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव सात गिगावाट प्रति घण्टा बिद्युत उत्पादन गरेको थियो । चालु आर्थिक वर्ष ०८२÷८३ को माघ मसान्तसम्म २९३ दशमलव पाँच गिगावाट घण्टा उत्पादन गरिसकेको यस केन्द्रको दिगो सञ्चालनका लागि फागुन २ गतेदेखि प्लान्ट बन्द गरी मर्मत कार्य अगाडि बढाइएको थियो । यस पटकको सटडाउनका क्रममा वर्षौंदेखि थाती रहेका र निकै चुनौतीपूर्ण मानिएका कार्य सम्पन्न गरिएको केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिनुभएको छ । उहाँकाअनुसार विशेषगरी बाँध क्षेत्रको माथिल्लो तटीय क्षेत्र र डिसेन्डर नजिकैको कटानले जोखिममा परेको संरचनाको संरक्षण कार्य पूरा गरिनुकासाथै विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको र सुरुङमा बालुवा छिर्न नदिन महत्वपूर्ण मानिने ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचनाको मर्मत गरी यसलाई सञ्चालन योग्य बनाइएको छ ।
मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ पोखरीमा वर्षौंदेखि थुप्रिएको बालुवा निकाल्ने कार्य पनि यसै अवधिमा सम्पन्न भएको केन्द्र प्रमुख मानजनले बताउनुभयो । उहाँले लामो समयदेखि रोकिएका ठेक्का सम्झौताका कार्यहरु र मेकानिकल मर्मतलाई उच्च प्राथमिकता दिएर सम्पन्न गरिएको छ । बिद्युत गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारी र अन्य जलबिद्युत केन्द्रका प्राविधिकहरुलाई संलग्न गराइएको थियो भन्नुभयो । बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो । केन्द्र प्रमुख मानजनले खोलाको बहाव न्यूनतम रहेको समयमा उत्पादनमा कम असर पर्नेगरी यो मर्मतको योजना बनाइएको थियो भन्नुभयो ।
तालुक कार्यालय, विभाग र निर्देशनालयको विशेष समन्वय र उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौंदेखि रोकिएका महत्वपूर्ण सिभिल कार्यहरु यसपटक सम्पन्नगर्न सफल भएका छौँ । प्लान्ट सटडाउनकै अवधिमा बिद्युत गृहमा एलटी टाइप ब्रेकर बदलीलगायतका अन्य आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतका कार्य समेत सम्पन्न भएका छन् । यस मर्मतसँगै केन्द्रको उत्पादन क्षमतामा सुधार आउने र प्राविधिक जोखिम कम हुने केन्द्रले जनाएको छ । रासस