काठमाडौं,२९ फागुन । क्रान्तिकारी कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सम्पन्न भएको छभने सो बैठकले साम्राज्यवादविरोधी संयुक्त मोर्चा निर्माणमा जोड दिएको छ । सो पार्टीको गत २४ देखि २६ सम्म बसेको स्थायी समितिको बैठकले देशको पछिल्लो राजनीतिक स्थितिका बारेमा मूल्यांकन समेत गरेको छ । बैठकपछि सो पार्टीका प्रबक्त हेमन्तप्रकाश ओलीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ– ०८२ फागुन २४ र २६ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको स्थायी समितिको बैठक महासचिव सिपि गजुरेलको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले बिभिन्न निर्णयहरु गरेको छ । जसमा महान् जनयुद्ध, ऐतिहासिक जनान्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनहरुमा शहादत प्राप्तगर्ने वीर तथा विरांगनाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगरी बैठकको प्रारम्भ गरियो ।

त्यसैगरी बैठकले गत केन्द्रीय समितिको चौथो पूर्ण बैठकद्वारा पारित संसदीय चुनाव बहिष्कारको कार्यनीति कार्यान्वयनगर्न तयगरिएको कार्यक्रमवारे समीक्षा गरेको छ, जस अनुसारः क) सामान्यतः बहिष्कारको कार्यनीति दलाल संसदीय राज्यव्यवस्थालाई कमजोर बनाउन, जनसमुदायको क्रान्तिकारी भावना र क्रान्तिकारी चेतना बचाउन, पार्टीलाई ज्वारभाटाका विरुद्ध जानका लागि अभ्यस्त बनाउन, पार्टीको स्वतन्त्र पहिचान स्थापितगर्न, नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रममा सक्रिय राख्न सफल भएको छ; ख) कठपुतली सरकारको निर्वाचन आयोगद्वारा घोषणा गरिएको मतदाता संख्या प्रतिशतभन्दा निकै कम मतदाताले मतदान गरेको, दार्चुलाका दुईवटा, दाङका दुईवटा, दोलखाको एकवटा र ओखलढुंगाको एकवटा गरी छवटा मतदान केन्द्रका जनताले बहिष्कारगरी खाली मतपेटिका पठाइदिनुले बहिष्कारको औचित्य प्रमाणित भएको छ र संसदीय व्यवस्था अझै नाङ्गिएको छ; ग) यो निर्वाचन साम्राज्यवाद र विस्तारवादद्वारा प्रायोजित होभन्ने कुरा जेन्जी विद्रोहका नाममा सरकार परिवर्तनगरी चुनाव गराइनु, बालेन र रविजस्ता पात्रहरु खडागरी स्टन्टबाजीकासाथ बर्षौंदेखि पूर्वाभ्यास गरिरहेको कुरा नेपाली जनताका लागि रहस्यमा राख्नु, ठूला भनिएका संचारगृह कब्जागरी मास हिष्टेरिया पैदागर्नु, रास्वपा उम्मेद्वार र अन्य पार्टीका उम्मेद्वारबीच म्यानिपुलेशनद्वारा जमीन–आकाशको मतान्तर गराइनु, पैसाको खोलो बगाएर राज्यसत्ताका सम्पूर्ण अंग किनिदिनु, चुनावको नतिजा आउँदा नआउँदै अमेरिकाले नयाँ सरकारसँग सुरक्षा सहकार्य गर्नेभनी वक्तव्य दिनु, पूर्व सरकारद्वारा एसपीपी (राज्य साझेदारी कार्यक्रम) स्वीकृत नभएको स्थितिमा स्वीकृत गराउने प्रक्रियागत श्रृंखला तयारीमा राखिनुले स्पष्ट पारेको छ; घ) अतः समग्र घटनाक्रमबाट शिक्षा लिएर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रिय स्वाधीनताको विषयलाई प्रमुख मुद्धा बनाउँदै साम्राज्यवाद विरोधी संयुक्त मोर्चा आजको आवश्यकता महसुस गरेको छ र आगामी कार्यक्रम त्यसमा केन्द्रित गरिनेछ ।

३) हामी आदरणीय जनसमुदायलाई आह्वान गर्दछौंकि कुनै ठोस परिस्थितिमा कम्युनिष्ट पार्टीले संसद्मा बहुमत प्राप्त गरेर सरकारमा सहभागी भएको भए पनि यसले संसद र सरकारको पूँजीवादी वा नेपालको सन्दर्भमा दलाल पूँजीवादी स्वरुप बदलिंदैन वा पुरानो राज्यसत्तालाई चक्काचूर पारी नयाँ राज्यसत्ता स्थापनागर्ने काम बाँकी रहन्छ भन्ने कुरा एमाले र माओवादीको संसद तथा सरकार प्रवेश र पतनले पुष्टिगरेको छ । बक्तब्यको अन्त्यमा यसबाट आधारभूत सामाजिक परिवर्तन पनि गर्नसकिदैन । त्यसकारण क्रान्तिकारी कम्युनिष्ट पार्टीले पुरानो राज्य सत्तामा आमुल परिवर्तन गरी नयाँ राज्यसत्ता स्थापना गर्न आफ्नो सम्पूर्ण तागत केन्द्रित गर्नुपर्दछ भनिएको छ ।