काठमाडौं,२९ फागुन । नेपालमा पछिल्लो राजनीतिक संक्रमणको मौका छोपेर उद्योगी र ब्यापारीहरुले सिमेन्ट र पाइपमा ४० प्रतिशतसम्म मूल्यवृद्धि गरेको पाइएको छ । प्राप्त समाचारअनुसार एचडीपीई (हाई डेनसिपट पोलिथाइलिन) पाइप, सिमेन्टसहितका निर्माण सामग्रीको मूल्यवृद्धि भएको हो । सरकारी ठेक्काको काम शुरु गर्ने समयमा बजारमा एचडीपीई पाइपको करिब ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको जानकारहरुको भनाई छ । जसले सरकार, गैरसरकारी संस्था, विभिन्न स्थानीय तहका विकासका काम अवरोध भएको छ । विशेषगरी सरकारी तहका खानेपानी आयोजनालगायतमा प्रयोग हुने यी पाइपको मूल्यवृद्धिले बजारमा तरंग पैदागरेको छ । सिमेन्टसहितका निर्माण सामग्रीमा पनि मूल्यवृद्धि आफूखुसी भइरहेको उपभोक्ताहरुको भनाई छ । निर्वाचन लगत्तै एक्कासि प्लाष्टिकजन्य सामग्रीहरु विशेषतः एचडीपीई पाइपको मूल्य बढेको छ ।
एक्कासि उद्योगहरुले ४० प्रतिशतसम्म मूल्य बढाएर बजारमा पठाएका छन्। उद्योगीहरुले आवश्यक अर्डर पनि लिन छोडेका छन् । सामान्यतया, सरकारी ठेक्का कार्यान्वयन वर्षा, दशैं, तिहार र छठ पर्व सक्किएपछि कात्तिकबाट शुरुभई जेठसम्म सक्किने हुन्छ । यस पटक निर्वाचन परेकाले निर्वाचनलगत्तै लागेका ठेक्का कार्यान्वयन हुने समयमा एचडीपीई पाइपको मूल्य आकासिदा यसको असर उपभोक्तासम्म पर्ने देखिएको छ । खानेपानी, सिँचाइ, कृषि, सडक, ढल निकासलगायतमा सिमेन्ट र पाइपको प्रयोग हुनेहुँदा यसको मूल्यवृद्धि सीधा उपभोक्तासँग जोडिएको उपभोक्ता हित संरक्षण मञ्चकी उपाध्यक्ष सुवर्णप्रभा गुरागाईंले बताउनु भएको छ ।
अमेरिका–इरानयुद्धका कारण कच्चपदार्थ भएको मूल्यवृद्धिको असर परेको ब्यापारीहरुको भनाई छ । युद्धले ३० देखि ५० प्रतिशतसम्म क्रुड आयलको मूल्यमा वृद्धिभएका कारण नेपाली बजारमा पनि त्यतिनै हिसाबले एचडीपीईको मूल्य बढ्ने अनुमान गरिएको बताइन्छ ।