तेहरान, २ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताउनुभएको छ । अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको हिजो आइतबार प्रसारित एक अन्तर्वार्तामा हामीले अमेरिकीहरुसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरुसँग कुरा गरिरहेका समय उनीहरुले हामीलाई आक्रमणगर्ने निर्णय गरेका थिए । अहिले हामी स्थिर र बलियो छौँ । हामी केवल हाम्रा जनताको रक्षा गरिरहेका छौँ भन्नुभएको थियो । उहाँले स्पस्ट भाषामा अमेरिकीहरुसँग कुरा गर्ने कुनै राम्रो अनुभव छैन भन्नुभएको थियो । ट्रम्पले गत शनिबार अमेरिकाले इरानसँग सम्झौता चाहेको तर वर्तमान सर्तमा सम्झौतागर्न आफू तयार नभएको बताउनुभएको थियो ।

अराघचीले हामीले कहिल्यै युद्धविरामको लागि आग्रह गरेका छैनँैं, र हामीले कहिल्यै पनि वार्ताको लागि सोधेका छैनौं भन्नुभयो । उहाँले इरान ती देशहरुसँग वार्तागर्न तयार छ जसले छनौट गरिएका तेल ट्यांकरहरु हर्मुज निर्यात मार्गबाट पारगर्न वार्तागर्न चाहन्छन् । म कुनै पनि देशको विशेष उल्लेखगर्न सक्दिनँ, तर हामीलाई धेरै देशहरुले सम्पर्क गरेका छन् जो उनीहरुको जहाजहरुको लागि सुरक्षित मार्ग चाहन्छन् भन्नुभयो । रासस,एएफपी