काठमाडौं, ७ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको बताउनु भएको छ । उहाँले गैरआवासीय नेपालीको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई महासंघ सचिवालय, टेकुमा हिजो स्वागतगर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेखगर्दै गैरआवासीय नेपालीहरुको पूँजी, सीप र अनुभवलाई नेपालको विकासमा लगाउनुपर्ने बताउनुभएको थियो । उहाँले महासंघको पहलमा धेरै नीतिगत सुधार भएकाले अब लगानीको लागि पनि सहज वातावरण बन्दैगएको धारणा राख्नुभएको थियो ।
उहाँले महासंघले नीतिगत तथा प्रक्रियागत जटिलता न्यूनीकरणगर्ने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माणगर्ने तथा अन्य प्रक्रियागत सरलीकरणका विषयमा नेपाल सरकारसँग धेरै ठूलो लबिङगरेर थुप्रै नीतिगत सुधार गरेका छौँ । हामीले राम्रो सहकार्य गर्न सक्यौँ नेपाल र नेपालीका लागि धरै गर्नसक्छौँ भन्नुभयो । सो अवसरमा एनआरएनएका अध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नेपालीहरु पनि नेपालको विकासमा साझेदार बन्न चाहेको धारणा राख्नुभएको थियो ।