
काठमाडौं,६ चैत । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओलीले हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक रहनुभएका पुष्पकमल दाहालले देश र जनताप्रति गद्धारी गरैको खुलाशा गर्नुभएको छ । काभ्रेको अनेकोटमा हिजो आयोजित २८ औं साँस्कृतिक प्रतिरोध दिवसलाई सम्बोधनगर्दै ओलीले उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा पुष्पकमल दाहालले रास्वपाको अभिभावक बन्ने भनेर दिएको अभिव्यक्तिमाथि टिप्पणीगर्दै दाहालको त्यस्तो भाष्यलाई रास्वपाको गुलामी अर्थात् प्रकारान्तरले साम्राज्यवादी शक्तिहरुको अझ बढी गुलामी हुनजाने बताउनु भएको थियो ।
१० वर्षको जनयुद्धमार्फत् पुरानो राज्यसत्ता बदलेर नयाँ जनवादी राज्यसत्ता स्थापनागर्ने घोषित लक्ष्य उद्देश्य छाडेर पुरानै सत्तामा जानु दाहालको सबैभन्दा ठूलो कमजोरी भएको चर्चागर्दै प्रवक्ता ओलीले जेनजी विद्रोहको बेला सेनाको हिरासतमा बस्दा जनमुक्ति सेना र हतियारको झल्झली सम्झना आएको हुन सक्ने टिप्पणी पनि गर्नुभएको थियो । सेना नभएको जनतासँग आफ्नो भन्नु केही पनि हुन्नभन्ने कुरा घटनाक्रमले पटक, पटक साबित गरेकोभन्दै उहाँले सत्ता बदल्नका निम्ति गरिएका आन्दोलन, युद्ध र संघर्षहरु सरकार बदल्न वा व्यक्ति बदल्नमा सीमित हुनेगरेका दृष्टान्त प्रस्तुत गर्नुभएको थियो । उहाँले सत्ता र सरकार फरक कुरा हुन् ।
सत्ता भनेको सेना, पुलिस, कर्मचारी तन्त्र, अदालत, कारागार लगायतका अवयवहरु हुन् । ती सबैलाई यथावत राखेर केवल सरकार मात्रै परिवर्तन गरेर सत्ता परिवर्तन हुँदैन । पुरानै सत्ता कायम राखेर पुरानै व्यवस्थामा जानु पुष्पकमलको सबैभन्दा ठूलो कमजोरी भयो । अझै पनि सच्चिने र सच्याउने ठाउँ छ । दाहालजी, रास्वपाको गुलामीतिर नलाग्नुस्, क्रान्तिकारी कित्तामा उभिनुस् भन्नुभएको थियो । उहाँले अहिले राष्ट्रिय स्वाधीनताको प्रश्न प्रमुख भएको चर्चागर्दै सम्पूर्ण देशभक्त, वामपन्थी, जनवादी शक्ति, क्रान्तिकारी शक्तिलाई संयुक्त मोर्चा निर्माणगरी सर्वपक्षीय सम्मेलनमार्फत् निकाशका लागि स्वाधीन संयुक्त सरकार गठन गरेर अगाडि जानुपर्ने धारणा पनि राख्नुभएको थियो ।