काठमाडौं, ७ चैत । नेपाल फिस्कल ड्यासबोर्डमार्फत तीनै तहका सरकारको वित्तीय सूचक हेर्नसकिने भएको छ । विश्व बैंक नेपालले तयार गरेको उक्त ड्यासबोर्डमार्फत संघ, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचक एकै ठाउँमा हेर्न, विश्लेषणगर्न र डाउनलोडगर्न सकिने भएको हो । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा हालै आयोजित कार्यक्रममा नेपाल विश्व बैंक समूहले सो विषयमा प्रस्तुतीकरण गरेको थियो । गत महिना सार्वजनिक भइसकेको ड्यासबोर्डबाट मुलुकको तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्यांक प्राप्त गर्न सकिने जनाइएको छ । यो ड्यासबोर्डमार्फत संघ, प्रदेश र स्थानीय तह प्रत्येकको बजेट, राजस्व स्रोत र खर्च उपलब्ध हुने छ । ती सबै तथ्यांकलाई एउटै ‘प्लेटफर्म’मा ल्याएर ‘भिजुअलाइज’ र विश्लेषण गर्न मिल्ने बनाइएको हो । यो ड्यासबोर्ड एकीकृत प्रणालीको अन्तरक्रियात्मक र प्रयोगकर्तामैत्री रहेको बैंकले जनाएको छ ।
ड्यासबोर्डमा सन् २०१८ देखि २०२२ सम्मका ऐतिहासिक तथ्यांक समावेश गरिएको छ । नयाँ तथ्यांक अद्यावधिक गरिँदै लैजाने बैंकले जनाएको छ । स्रोतकारुपमा बजेट भाषण, महालेखा नियन्त्रकको कार्यालयले प्रकाशनगर्ने एकीकृत वित्तीय विवरण र नेपाल राष्ट्र बैंकलगायत सार्वजनिक निकायका तथ्यांक प्रयोग गरिएको छ । ड्यासबोर्ड प्रयोगगर्न कुनै अनुमति आवश्यक नपर्ने र जोकोहीले स्वतन्त्ररुपमा प्रयोगगर्न सक्ने बताइएको छ । तर तथ्यांक सरकारी स्रोतबाट आएकाले स्रोत उल्लेखगर्नु उपयुक्त हुने जनाइएको छ ।
नाफिजकी अध्यक्ष मेनुका कार्कीले ड्यासबोर्डमा प्राप्त हुने तथ्यांक विश्लेषणगर्न सजिलो हुने भएकाले आर्थिक पत्रकारिताका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले प्रयोगकर्ताहरुले नेपाली भाषामा उपलब्ध गराउनुपर्ने अन्य दक्षिण एशियाली देशसँग तुलनागर्ने सुविधा थप्नुपर्ने र नियमित अद्यावधिक गर्न सुझाव दिनुभएको छ । रासस