
काठमाडौं, ७ चैत । ग्यास अभावले भारतमा रहेका नेपाली स्वदेश फर्कनथालेका छन् । भारतका बिभिन्न शहरमा होटल तथा व्यवसायमा मजदुरीगर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्नेहरु ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् । कैलालीको नेपाल–भारत सीमानाका त्रिनगरमा भेटिनुभएका डोटीका रोशन खड्काले ग्यास अभावले आफू कार्यरत होटल बन्दहुने अवस्थामा पुगेपछि स्वदेश फर्किएको बताउनुभयो । भारतको मुम्बइबाट स्वदेश फर्किर्दै गर्नुभएका उहाँले खाने र बस्ने सुविधा होटलमा थियो । ग्यास अभावले होटल बन्दगर्ने तयारी भयो, बेरोजगार हुने अवस्था आएपछि स्वदेश फर्किएँ भन्नुभयो । सीमानाकामा भेटिनुभएका विजय विकले एकातिर ग्यास अभावले पूरै समय होटल नचल्ने गरेको र अर्कातिर ‘बिसु’ पर्व पनि नजिकिँदा यस वर्ष छिटो घर फर्किनुपरेको बताउनुभयो ।
उहाँले बिसु पर्व पनि आइरहेको छ, चैत अन्तिमतिर घर फर्किने सोच भए पनि आफूले काम गर्ने होटल ग्यास अभावमा बन्द हुने अवस्थामा पुगेकाले फर्किएको हुँ भन्नुभयो । विककाअनुसार सुदूरपश्चिम प्रदेशमा बिसु पर्वलाई नयाँ वर्ष आरम्भकारुपमा मनाइन्छ । उहाँले खाना पकाउने ग्यासको अभावले होटलमा मजदुरीगर्ने नेपाली सबैभन्दा बढी प्रभावित भइरहेका बताउनुभयो । भारतको पुनामा रहेका डोटीका महेश भट्टले ग्यास अभावले रोजगारीका लागि भारत गएका नेपालीहरु समस्यामा परेका बताउनुभयो । उहाँले खासगरी होटल व्यवसायमा रोजगारी गरिरहेका अधिकांश नेपाली बेरोजगार हुने अवस्था छ । होटल व्यवसायका साथै अन्य क्षेत्रमा मजदुरीगर्ने नेपाली बढी प्रभावित हुनेगरेका छन् भन्नुभयो । पश्चिम एशिया क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएपछि भारतमा इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरिएको त्यहाँबाट फर्किएका नेपालीको भनाइ छ । भारतमा ठूलो संख्याका नेपाली बिभिन्न क्षेत्रमा रोजगारीगर्दै आएका छन् । सुदूरपश्चिमेलीको रोजगारीका लागि पहिलो गन्तव्य भारत हो ।
यसैबीच, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थालाई लक्षित गरेर पछिल्ला दिनमा कैलालीका बजार क्षेत्रमा अनुगमन भइरहेको छ । जिल्लास्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख लक्ष्मीप्रसाद जैशीले अनुगमनका क्रममा कैलालीसहित आसपासका जिल्लामा अहिलेसम्म खाना पकाउने ग्यास अभाव नरहेको जानकारी दिनुभयो । टोलीले कैलालीको धनगढी, टीकापुर, लम्की, अत्तरिया र कञ्चनपुरको पुनर्वास, बेलौरीलगायत क्षेत्रमा बजार अनुगमन गरेको छ । उहाँले डिजेल, पेट्रोलको आपूर्ति व्यवस्था आजसम्म सहज छ । खाना पकाउनका लागि आधा सिलिन्डर ग्यास बिक्री गर्नुपर्ने सरकारी नीतिबमोजिम सबैतिर आधा सिलिन्डर प्रयोग भइरहेको बताउनु भएको छ । रासस