काठमाडौं, ७ चैत । पश्चिम एशिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी बिभिन्न मुलुकमा फसेका नेपाली नागरिक अवस्था केही सहज भएपछि आफ्ना गन्तव्यतर्फ लागेका छन् । शुरुमा दोहा, दुवई जेद्दा र कुवेत सिटीमा बढी समस्या देखिएकामा हाल दोहा र दुबईमा सीमित मात्रामै भएपनि हवाई सम्पर्क शुरु भएकाले ती दुई ठाउँमा रहेका ट्रान्जिटमा रहेका सबै नेपालीहरु गन्तव्यतर्फ लाग्नुभएको हो । जेद्दामा समस्यामा परेका ५२ जना हजयात्रीहरु यही गत पाँचगते फर्किसक्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै कुवेत सिटीमा समस्यामा परेका शुरुका ५२ जनामध्ये बाँकी रहेका ३३ जनाको पनि यही चैत चार गते साउदी अरेबियाको भिसाको प्रबन्ध मिलाइ गन्तव्यतर्फ जान आवश्यक समन्वय गरिएको मन्त्रालयको भनाइ छ । त्यहाँको पछिल्लो अवस्था र त्यहाँ रहेका नेपालीहरुको सुरक्षा तथा सहयोगका लागि भएका पहलहरु बारेमा परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार पत्रकार सम्मेलनगरी जानकारी गराएको हो ।

पश्चिम एशिया तनाव शुरुभएको आज २२ दिन बितिसकेको छ । त्यहाँ तनाव कमगर्नका लागि बिभिन्न प्रयासहरु भइरहेको भएपनि गल्फ कोअपरेशन काउन्सिल(जिसिसी) सदस्य मुलुक लक्षित ड्रोन तथा मिसाइल आक्रमण जारी नै रहेको देखिएको छ । मन्त्रलयलका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले पश्चिम एशियाको समग्र अवस्था, नेपालीको सुरक्षाकाबारेमा जानकारी गराउँदै हालसम्म युएईमा एकजना नेपालीको निधन भएको २० जना नेपालीलाई सामान्य चोटपटक लागेको बताउनुभएको छ । उहाँले घाइतेमध्ये एक जनाबाहेक सबै जना उपचारपछि घर फर्केको अवस्था छ । अस्पतालमा रहेका एकजना नेपाली पनि खतरामुक्त हुनुहुन्छ ।

यी घटनाबाहेक उक्त क्षेत्रका सबै मुलुकमा रहनुभएका सबै नेपालीहरु सुरक्षित हुनुहुन्छ भन्नुभयो । मन्त्रालयले सचिवको संयोजकत्वमा बिभिन्न निकायका प्रतिनिधि रहनुभएको आपत्कालीन प्रतिकार्य समूह गठनभई उक्त टिमको तेस्रो बैठकसमेत पनि सम्पन्न भएको छ । यस्तै मन्त्रालयमा स्थापना भएको आपत्कालीन नियन्त्रण कक्ष २४ सै घण्टा सञ्चालनमा रहेको छ । मन्त्रालयेको कन्सुलर सेवा विभागले जानकारी, समन्वय र सम्भावित उद्धारका उक्त क्षेत्रमा रहेका नेपालीको विवरण संकलनका लागि खोलेको अनलाइन फाराम भर्नेहरुको नेपालीको संख्या शुक्रबारसम्म ८२ हजार १०० पुगेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । रासस